बेलायतमा कोरोनाले लियो ३३ वर्षीया युवती र पूर्व गोर्खा सैनिकसहित थप तीन नेपालीको ज्यान


१२ बैशाख २०७७, शुक्रबार
london korona

काठमाडौं, १२ बैसाख । बेलायतमा कोरोना (कोभिड–१९) भाइरस महामारीले नेपालीको पनि ज्यान जाने क्रम बढेको छ ।

बेलायतमा कोरोना भाइरस संक्रमणले थप तीन नेपालीको ज्यान लिएको छ । हालसम्म मृत्यु हुनेमध्ये ३२ वर्षीय नाछिरिङ्ग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् ।  उनको बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणबाट ज्यान गएको हो ।

मृगौलासम्बन्धी रोगबाट पीडित राईलाई श्वासप्रश्वासमा समस्या देखिएपछि एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो । खोटाङको ऐसेलुखर्क घर भएकी राई पछिल्लो समय धरान १७ मा बस्दै आएकी थिइन् ।

गत वर्ष मात्र बेलायत आएकी मृतक राई बेलायतको नानिटनमा आफ्ना आमा बाबा र बहिनीका साथमा बस्दै आएकी थिइन् । पूर्व गोर्खा डाकबहादुर राईकी छोरी मृतक राई अविवाहित थिइन् ।
कोरोना संक्रमणकै कारण अर्का एक जना नेपालीको पनि मृत्यु भएको छ ।

सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिङ्गदेनको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छ । मृतक लिङ्गदेन झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व प्रधान अध्यापक हुन् ।

यस्तै बेलायतको ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाहीको पनि बुधबार कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । मृतक शाहीलाई गत वर्ष हृदयघात भएको थियो । उनी ढाडको समस्याबाट समेत पीडित थिए । पुर्ख्यौली घर प्युठान भएका उनी पछिल्लो समय भैरहवा बस्दै आएका थिए ।

मृतक शाही बेलायतमा हुने साहित्यिक गतिविधिमा समेत संलग्न हुँदै आएका थिए । बेलायतमा उनी श्रीमतीका साथ बस्दै आएका थिए । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई दर्जन पुगिसकेको छ । बेलायतमा कोरोनाबाट १८ हजार ७ सय बढीको ज्यान गइसकेको ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७