आजको नेतृत्व नै समृद्धिको बाधक


१३ बैशाख २०७७, शनिबार
nabaraj sankar youth 12 scaled

राष्ट्र निर्माणको सबैभन्दा महत्वपूर्ण आधार युवा शक्ति नै हो । युवा सबैखाले परिवर्तनको मुख्य बाहक शक्ति हुन् । यसो भनेर अन्य अवस्थालाई नजरअन्दाज गर्न खोजिएको होइन । बृद्धबृद्धा समाजका महत्वपूर्ण हिस्सा हुन् । इतिहासमा उनीहरुले गरेको योगदान प्रशंसनीय बिषय हो, जसका लागि उनीहरु आदरका पात्र हुन् ।

तर मुलुकको विकास र समृद्धिमा उनीहरुको भूमिका अभिभावकीय मात्रै हुन्छ । राष्ट्रसँग उनीहरुको सम्बन्ध भावनात्मक र निजात्मक मात्रै हुने गर्दछ । योगदानका हिसाबले सीमित हुन पुगेको त्यस्तो पुस्ताका लागि चासोको बिषय भनेको आफूहरुले गरेको योगदानहरु सँधैभरी सम्झिरहुन, आफ्नो बाँकी जिन्दगी शान्तसँग यापन होस् र भोलिका पुस्ताले सुरक्षित भविष्य पाउन् भन्ने हुन्छ ।

यस्तै बालबालिका पनि समाजका निकै महत्वपूर्ण हिस्सा हुन् । तर उनीहरु राष्ट्र निर्माणमा भविष्यका लागि बढी महत्वपूर्ण हुन् । वर्तमानमा उनीहरुको मुख्य सरोकार भविष्यको निम्ति तयारीका लागि उपयुक्त वातावरणको प्रत्याभूति हो । राष्ट्रका लागि भने युवा पुस्ता वर्तमान र भविष्य दुवै हो । उनीहरु यसका कर्ता र भोक्ता दुवै हुन् । न उनीहरु अतितजीवि भएर बाँचन सक्दछन्, न त भविष्यका लागि एउटा शुभचिन्तक मात्रै भएर बस्न, न त अरुको पौरखमा बाँच्न सक्दछन् ।

उनीहरुका लागि राष्ट्र भनेको अतितबाट प्राप्त इतिहास, काम गर्ने वर्तमान कर्मथलो र सुरक्षित भविष्यको आधारशीला पनि हो । त्यसैले राष्ट्रको भविष्यसँग युवा शक्तिको भविष्य पनि प्रत्यक्षसँग जोडिएको हुन्छ । उनीहरुको भूमिकाले राष्ट्रको भविष्यलाई निर्धारित गर्दछ ।
नेपालको प्रचलित कानूनले भन्छ–कि १६–४० बर्षको उमेर युवा अवस्था हो ।

तर हामीले अभ्यास गर्दै आएको राजनीतिले भन्छ कि– ४५–५० बर्षसम्म विद्यार्थी नेता अनि मुर्दा बनेर आर्यघाट नपुग्दासम्म युवा नेता । आजसम्मको नेपाली राजनीति यही गतल मूल्य, मान्यताबाट अघि बढिरहेको छ । पटक–पटकका परिवर्तनकामी आन्दोलनमा सत्ता प्राप्तिको भ¥याङ बनेको युवा शक्ति सत्तारोहणभन्दा अन्य कुरामा फर्केर नहेर्ने रिटायर्ड राजनीतिक नेतृत्व हामीले आजसम्म भोग गरिरहेका छौं ।

यसो भन्नुको मतलब अहिलेको राजनीतिक नेतृत्वप्रतिको अवहेलना वा त्यसप्रतिको वितृष्णा वा घृणाभाव किमार्थ होइन । अहिले नेतृत्वमा भएको पंक्तिकै कारण आज हामी पञ्चायतको कालरात्रीदेखि, जनयुद्ध, शाही कू, २०६२–०६३ को शान्तिपूर्ण जनक्रान्ति हुँदै आजको अवस्थासम्म आइपुगेका छौं । उमेर समूहको हिसाबले आज रिटायर्ड भएको पुस्ताले गरेको नेतृत्व र आम नेपाली जनताको साथ सहयोग र समर्थनको कारण आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको यो अवस्थासम्म आइपुगेका छौं ।

हालको नेतृत्व र आम नेपाली जनताको साथ, सहयोग र समर्थनमा संघीय लोकतान्त्रिक शासन व्यवस्था, समावेशी लोकतन्त्र, समाजवाद उन्मुख संविधान, समाजिक न्याय लगायतको उपलब्धी हासिल भएको छ । यसकारण अहिलेको राजनीतिक नेतृत्व सबै हिसाबले धन्यवादको पात्र पनि हो । यहाँसम्म आइपुग्दा हालको नेतृत्व ७० बर्षको हाराहारीमा पुगिसकेको छ ।

त्यसैले अब यो उमेर समूहले अभिभावकको भूमिका निर्वाह गर्नुपर्दछ । समृद्ध नेपाल सुखी नेपालीको महाअभियानको नेतृत्व युवा शक्तिले गर्नुपर्दछ । हामी तब मात्र सही गन्तव्यमा पुग्न सक्दछौं । हामीले लामो समयसम्मको लडाईंबाट प्राप्त संघीय लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका छौं । अहिलेको नेतृत्वलाई हेर्ने हो भने यो नयाँ बोतलमा पुरानै रक्सी भने जस्तो अवस्था छ ।

यही पृष्ठभूमिमा समृद्धिको महाअभियानलाई सफलिभूत पार्न सकिँदैन । आम रुपमा युवाहरुको उल्लेख्य सहभागितासहित यसको नेतृत्व अब दोस्रो पुस्ताबाट हुन जरुरी छ । यो सँगै समृद्धिको यात्रालाई अघि बढाउन २ धार ३ पुस्ताको संलग्नतामा अघि बढाउन जरुरी छ । दुई धार भनेको नेपाली राजनीतिमा अभ्यास भएको जस्तो दुई गुट बनाउने होइन । यो भनेको हिजो जेल बसेका, होलटाइमर भएका, सेल्टर दिएका, भूमिगत भएका, सारा जीवन पार्टीमा समर्पित भएका बाट मात्रै समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुग्न सकिँदैन । तसर्थ यो एउटा धार भयो ।

यो सँगै आजको विज्ञान र प्रविधिसँग अभ्यस्त विज्ञ एवं दक्ष मानिसहरुको धारलाई जोडेर समृद्धिको यात्रामा दुई धारको संयुक्त अभ्यास जरुरी छ । त्यसैगरी करिब ७० बर्ष हाराहारीको बाजे पुस्ता मात्रै नभएर बाजे पुस्ता, छोरा–छोरी पुस्ता र नाती–नातिनी पुस्ता गरेर ३ वटै पुस्ताको हरेका क्षेत्रमा पहिचान, प्रतिनिधित्व र पहुँच स्थापित गर्न जरुरी छ ।

यतिबेला देशले युवा पुस्ताको सन्तुलित र सचेततापूर्वक भूमिका खोजिरहेको छ । यसका लागि झिना, मसिना स्वार्थभन्दा माथि उठ्न सक्ने दृढता जरुरी छ । आम मान्छेले सर्वत्र दोस्रो पुस्ता, युवा पुस्ताको नेतृत्व खोजिरहेको छ । यसका लागि यो पुस्ताले अघिल्लो पुस्ताको पिछलग्गु भएर सिकेका गलत मूल्य, मान्यता र संस्कारलाई त्याग्न जरुरी छ ।

सबैखाले स्वार्थभन्दा माथि उठेर मुलुकको हितलाई केन्द्रमा राखेर सहीलाई सही र गलतलाई गलत भन्न सक्नु पर्दछ । सबैको अपेक्षा भनेको राजनीतिक रंगमञ्चमा युवा पुस्तालाई आ–आफ्नो पार्टीभित्रको गुटको उत्तराधिकारी मात्रै होइन कि सिङ्गै मुलुक सञ्चालन गर्ने उत्तराधिकारी भएको हेर्ने छ ।

आज सत्तापक्ष वा विपक्षमा भएका सबै युवा नेतृत्व यो ऐतिहासिक अभिभारा पुरा गर्नेगरी समृद्धिको महाअभियानलाई अघि बढाउने गरी स्वार्थ त्यागेर अघि बढ्नुको विकल्प छैन ।
आज राष्ट्रिय राजनीतिमा प्रमुख विपक्षीको रुपमा रहेको नेपाली कांग्रेसको बारेमा धेरै चर्चा परिचर्चा गर्न जरुरी रहेन । कि आज पनि तिनका नेता कार्यकर्ता देउवा, पौडेल, सिटौलालाई युवा नेता नै भन्छन् । पछिल्लो समयमा धेरैको निधन पार्टी सभापति, प्रधानमन्त्री भएकै अवस्थामा भएको छ ।

बल्लतल्ल दोस्रो पुस्ता नेतृत्वको लागि आफूलाई अघि सार्न इच्छा देखाउन थालेको छ, यो सुखद् कुरा हो । कुनैबेला यो दल नेपालमा भ्रष्टाचारी उत्पादन गर्ने कारखाना जस्तै नै थियो । तिनको नाम लिन जरुरी भएन तर युवाहरु तिनकै कारिन्दा बने, विपक्षमा चुइक्क बोलेनन् । अहिले सत्ताबाहिर हुँदा धर्म निभाउन भए अपनि बोलिरहेका छन् । जहाँसम्म सत्तामा भएको पार्टीको कुरा गर्ने हो भने सारा पार्टी नेतृत्व ४ जना नेताको वरिपरी घुमेको देखिन्छ ।

एमाले हुँदै नेकपासम्म केपी शर्मा ओलीले करिब ६ बर्ष पार्टीको नेतृत्व गरे भने नेकपा मशाल हुँदै नेकपासम्म आइपुग्दा पुष्पकमल दाहाल प्रचण्डले करिब ३० बर्ष पार्टीको नेतृत्व गरे । माधवकुमार नेपाल करिब १५ बर्ष र झलनाथ खनाल ३ कार्यकाल पार्टी प्रमुख भए । उमेर र नेतृत्वमा भएको समयावधि दुवै हिसाबले सबै रिटायर्ड भएको अवस्था हो । अब यो पुस्ताले अभिभावकत्व लिएर नेतृत्व हस्तान्तरण जरुरी छ ।

जसले समृद्धिको यात्रामा अघि बढ्नलाई सहजता प्रदान गर्नेछ । आज बाहिर आउने जुनसुकै खराब प्रवृत्ति र घटनाहरुको लहरो तान्दै गयो भने राजनीतिक नेतृत्वमा पुगेर सेलाउने संस्कार विकास हुँदैछ । आफ्ना र मन परेका नेतालाई देवत्वकरण गर्ने अनि अर्काका र मन नपरेका नेतालाई राक्षसीकरण गर्ने अत्यन्तै हानीकारक गुण हामीमा विकास भइरहेको छ । यो सर्वथा गलत छ, यसमा सुधार जरुरी छ ।

सामाजिक सञ्जालमा आफ्नो पार्टी र रुचाएको नेताको नाम भजाएर पक्ष र विपक्षमा घिनलाग्दो तर्कबाजीमा आज सिङ्गो युवा पंक्ति तल्लीन छ । यसबाट अलिकति माथि उठेर सहीलाई सही र गलतलाई गलत भन्ने अनि त्यसैको सापेक्षतामा आफूलाई उभ्याउने कुरालाई स्थापित गर्नु हामी सबै युवाहरुको दायित्व बनेको छ । आज सिंगो विश्व नै कोरोना भइरसको संक्रमणबाट आक्रान्त छ । जसले मानव समाजको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा गरेको छ ।

यसले हाम्रो अर्थतन्त्रमा नराम्रो धक्का पुग्नेवाला छ भने धेरै युवाहरुको रोजगारी खोसिनेवाला छ । धेरै चुनौतिहरुको सामना गर्नुपर्नेछ । सबै चुनौतीहरुलाई अवसरको रुपमा लिँदै युवाहरुको उचित पहल, कदमी एवं अग्रसरताबाट देशलाई माथि उठाउनुपर्नेछ । समृद्धिको यात्रामा द्रुत ढंगले अघि बढाउनु पर्नेछ ।

भ्रष्ट बनेको राजनीतिक नेतृत्वलाई सही ठाउँमा हिँड्नको लागि खबरदारी गर्ने भन्दा पनि अहिले विश्वव्यापीकरणको प्रभाव र पश्चिमा संस्कृतिको असर जस्ता कारणले नेपाली युवाहरु रातारात धनी बन्ने, सबै उपभोग्य वस्तुमा रमाउने र त्यसैलाई स्वतन्त्रताको रुपमा बुझ्ने मनोविज्ञान मौलाउँदै गएको कारणले गर्दा पछिल्लो समयमा उद्योग व्यवसायमा लागेर जीविकोपार्जन गर्ने भन्दापनि चन्दा असुली, फिरौती, सम्पत्ति कब्जा, आर्थिक सजायजस्ता जस्ता कुराहरु हताश युवाको तिर्खा मेटाउने साधन बनेका छन् ।

विकास निर्माणको सन्दर्भमा टेण्डर खोलिएका स्थानहरुमा ठेकेदारहरुको खेतालाको रुपमा युवाहरुको उपस्थिति हुन्छ । दल सम्बद्ध युवाहरुको मुठभेडमा युवाहरुको संलग्नताले समाजको विकास उकालो नभएर ओरालो लागिरहेको देखिन्छ । यी सबै कुराहरुबाट पाठ सिक्दै युवा शक्तिले समृद्धिको बाहकको रुपमा अगाडि बढ्नुपर्ने अभिभारा युगले तपाईं हामीलाई सुम्पिएको छ ।

अघिल्लो पुस्ताले थुप्रै कमी कमजोरीहरु गरे होलान् तर हामीले उनीहरुको सीमा पनि बुझ्नै पर्दछ । यसको अर्थ उनीहरुप्रति हामी आभारी हुनै पर्दछ, जसले मुलुकलाई संघीय लोतान्त्रिक गणतन्त्रको यो अवस्थासम्म ल्याई पुर्‍याउन अगुवाई गरे । तथापी यो पुस्ता परम्परागत मान्यता, क्षमता र उमेरको कारण विस्तारै शिथिल बन्दैछ, उसका सीमा उद्घाटित हुन थालिसकेकाछन् ।

त्यसैले पुरानो पुस्तालाई आलोचना गरेर होइन, उनीहरुका राम्रा कुराहरुलाई पछ्याएर तथा उनीहरुका असफलताबाट पाठ सिकेर नै युवा पुस्ताले राष्ट्र निर्माणमा आफ्नो निर्णायक भूमिका प्रस्तुत गर्न सक्छ । आजको नेतृत्व नै समृद्धिको मुख्य बाधक हो । तसर्थ समृद्धिको यात्रामा उमेर र अवधिका हिसाबले रिटायर्ड भएको हालको नेतृत्व बाधक बन्नु हुँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७