रूसमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ७० हजार नाघ्याे, पछिल्लाे २४ घण्टामा पाँच हजार ९६६ जना थपिए


१३ बैशाख २०७७, शनिबार
corona update world scaled

मस्को, १३ वैशाख (सिन्ह्वा) । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरसबाट सङ्क्रमित रूसी नागरिकको सङ्ख्या शनिबारसम्ममा ७४ हजार ५८८ पुगेको मस्कोद्वारा सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । रूसमा विगत २४ घण्टामा थप पाँच हजार ९६६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

उक्त भाइरसको सङ्क्रमणका कारण रूसमा ६८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा थप ६६ व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै रूसमा सङ्क्रमितमध्ये छ हजार २५० जना निको भएर घर फर्किएका छन् विगत २४ घण्टामा मात्रै रूसमा ६८२ कोरोना सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका बताइएको छ ।

देशको सबैभन्दा बढी प्रभावित मानिएको राजधानी मस्कोमा विगत २४ घण्टामा थप दुई हजार ६१२ जनामा सङ्क्रमण पुष्टि भएको छ । रूसी राजधानीमा शनिबारसम्ममा ३९ हजार ५०९ जनामाा सङ्क्रमण देखिएको छ ।

रूसको उपभोक्ता अधिकार तथा मानवहितका लागि सक्रिय संस्था रोसपोट्रेवनाजोरले शनिबार एक विज्ञप्ति जारी गरी रूसमा शुक्रबारसम्ममा एक लाख ६८ हजार ५५ व्यक्तिलाई भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । भाइरस सङ्क्रमणको सुरूको अवस्थामा ल्याब परीक्षणमा पनि सङ्क्रमण पुष्टि नदेखिने हुँदा उनीहरूलाई निगरानीमा राखिएको हो ।

रूसमा पहिलो दुई व्यक्तिमा सङ्क्रमण जनवरी ३१ मा भेटिएको भएपनि मार्चको अन्त्यपछि मात्रै सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको थियो । अहिलेसम्ममा एकैदिन सबैभन्दा बढी यही अप्रिल १९ मा छ हजार ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

रूसको यतिवेलाकोे सबैभन्दा प्रमुख कार्य कोभिड–१९ सङ्क्रमण र सामाजिक तथा आर्थिक क्षतिको प्रभावलाई नियन्त्रण गर्ने रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार बताएको थियो ।

रूसी केन्द्रीय बैंकले शुक्रबार उसको प्रमुख कर्जा दरलाई सन् २०१३ पछि पहिलो पटक ०.५ प्रतिशत अङ्कले कटौती गर्दै कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिई ५.५ प्रतिशत बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७