नयाँ सिमकार्ड लिनु भएको छ ? कल सेन्टरबाट फोन आउन सक्छ


१४ बैशाख २०७७, आईतवार
Sim

काठमाडौं, १४ बैसाख । के तपाई सरकारले लकडाउन घोषणा गरेको समयअघि वा पछि आउनु भएको छ ?

सो समयको आसपासमा तपाई देशभित्र आएर दूरसञ्चार सेवा प्रदायकको नयाँ सिमकार्ड खरिद गर्नु भएको छ र सञ्चालन गरिरहनु भएको छ ? यदि छ भने तपाईलाई जुनसुकै बेला पनि नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा रहेको कल सेन्टरबाट फोन आउन सक्छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) ले लकडाउनको समय वा सोभन्दा पहिले विदेशबाट देशभित्र भित्रिएका नेपाली नागरिकको निगरानीका लागि समेत कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

सरकारले गत चैत ११ गतेदेखि कोरोना नियन्त्रणका लागि लकडाउन गरिरहेको छ । विशेषगरी नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका नयाँ सिमकार्ड खरिद गरी सञ्चालनमा ल्याएका जोकोहीलाई पनि फोन सम्पर्क गरी उनीहरुको विवरण लिइराखिएको छ ।

कोरोना भाइरसको सक्रमण भए–नभएको पत्ता लगाउनसमेत कल सेन्टरबाट फोन गरेर आवश्यक जानकारी लिन थालिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सम्भावित बिरामीको पहिचान गर्न तथा उनीहरुको अवस्था पत्ता लगाउनका लागि गत चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरी काम भइरहेको छ ।

सिसीएमसीमा नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका नयाँ सिमकार्डको विवरण लिइएको छ । त्यसका लागि विशेष प्रकारको सर्भरसमेत छाउनीमा स्थापना गरिएको छ । लकडाउनअघि र पछि गरेर नेपाल टेलिकमका नयाँ २० हजार सिम सञ्चालनमा आएको पाइएको छ । यस्तै एनसेलका मात्रै कूल ४२ हजार नयाँ सिम सञ्चालनमा आएको छ ।

प्रवक्ता पाण्डेका अनुसार कल सेन्टरमा हरेक दिन बिहानदेखि साँझसम्म नै नेपाली सेनाको जनशक्ति परिचालन गरिएको छ । उनीहरुले दैनिक औषतमा दुई हजार फोन गर्ने गरेका छन् । कार्य समय मिलाएर जनशक्ति परिचालन गरिएको जानकारी दिँदै प्रवक्ता पाण्डेले दुई भिन्न स्थानबाट १०–१० का दरमा परिचालित २० जनाले कल सेन्टरबाट फोन गर्ने गरेको बताए ।

सक्रिय अवस्थामा रहेको सिम लिएका सम्बन्धित व्यक्तिलाई सम्पर्क गरिएको र हालसम्म कूल ३४ हजार ८० लाई सम्पर्क गरिएको छ । सम्पर्कका क्रममा विदेशबाट आएका ८६९ भएको र तीमध्ये ५७ जनामा सम्भाव्य सङ्क्रमित देखिएको छ ।

नेपाली सेनाका महासेनानी सुदीप पन्तका अनुसार सूचना प्रविधि कार्यअन्तर्गत हरेक दिन नै सेनाको जनशक्तिले नयाँ सिमकार्ड लिएकालाई फोन गरी आवश्यक जानकारी लिने गरिएको छ ।

उनले भने, ‘हामीले फोन गर्दा अधिकाशंले राम्रो रेस्पोन्स गरी आवश्यक जानकारी दिनुभएको छ । एकाधले मात्रै जानकारी दिन मान्नु भएको छैन ।’ कल सेन्टरबाट गरिएको फोनमध्ये १५ देखि २० प्रतिशतको भने विभिन्न कारणले सम्पर्क हुन सकेको छैन । सम्पर्क हुन नसकेकालाई पुनः दोहो¥याएर पनि सम्पर्क गरिएको छ ।

कल सेन्टरबाट फोन गर्दा सङ्क्रमणको जोखिम देखिएकाको जानकारी सिसीएमसीको स्वास्थ्य एकाइ तथा सम्बन्धित प्रदेश तथा स्थानीय निकायलाई समेत जानकारी दिने गरिएको छ ।

‘फोन पछि यो गाँउपालिका वा नगरपालिकाको सम्बन्धित व्यक्तिका कोरोनाको जोखिम देखिन्छ, आवश्यक सचेत हुनु जरुरी छ भनेर हामीले जानकारीसमेत दिएका छौं’, महासेनानी पन्तले भने, ‘जोखिमबाट जोगिनका लागि गरिएका विभिन्न पहलमध्ये यो पनि एउटा महत्वपूर्ण काम हो ।’

कल सेन्टरबाट फोन गर्दा पत्ता लागेको जोखिमपूर्ण व्यक्ति तथा क्षेत्रको पहिचानमा समेत सहयोग मिलेको छ । पछिल्ला दिनमा कोरोनाको हटस्पट देखिएको उदयपुरमा समेत कल सेन्टरबाट सयौं फोन गरिएको छ । त्यसबाट नागरिकका सहजैरूपमा जनचेतना समेत जगाउन बल पुगेको सेनाको बुझाइ छ ।

सेन्टरबाट विशेष गरी यतिबेला प्रदेश नं २ का विभिन्न जिल्ला तथा आगामी दिनमा प्रदेश नं ५ मा ध्यान केन्द्रित गर्न लागिएको छ । ‘जुन स्थानमा जोखिमको मात्रा बढी देखिएको छ, सोही स्थान हेरेर फोन गरिएको छ’, प्रवक्ता पाण्डेले भने, ‘सकेसम्म नयाँ सिमकार्ड लिएकाहरुले पनि आफू सुरक्षित वा असुरिक्षत के हो भन्नेबारेमा जानकारी दिन सक्ने व्यवस्था मिलाइएको छ ।’

लकडाउनको शुरुआती चरणमा लुकेर वा लुकाएर बस्ने अवस्था रहे पनि परिवार तथा आफ्नो गाँउ समाजको सुरक्षाका लागि समेत पछिल्ला दिनमा खुल्ने र आफ्नो जानकारी दिने क्रमसमेत बढेको पाइएको छ ।

दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराएका नम्बरमा नेपाली सेनाको जनशक्तिले आवश्यक प्रश्न तयार पारी उनीहरुको घर तथा गाँउ रहेको स्थान तथा कुन देशबाट आएको, स्वास्थ्य अवस्था तथा उनीहरुको सम्पर्कमा रहेकाहरुको समेत जानकारी लिने गरिएको छ । जनचेतना जगाउनसमेत आफूहरुको पहल सार्थक बनेको विश्वास व्यक्त गर्छन् महासेनानी पन्त ।

यस्तै नेपाल टेलिकमले कोरोना सङ्क्रमणबारे जानकारी दिन १४१९ मा डायल गरी सोधिएका प्रश्नको जवाफ दिन सकिने व्यवस्था समेत गरेको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले समेत सोही प्रकारको व्यवस्था गरेको छ ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको बेवपेज तथा मोबाइल एपमा समेत स्वास्थ्यस्थितिका बारेमा स्वमूल्याङ्कन फारम भर्ने व्यवस्था मिलाइएको छ । त्यसरी फारम भर्नेको संख्या कूल २५ हजार ९०६ पुगेको छ ।

त्यसमा कूल २२९ जना सम्भावित सङ्क्रमित देखिएको छ । कल सेन्टरबाट पत्ता लागेको ५७ र बेव तथा एपबाट पत्ता लागेका कूल २२९ गरी २८१ जना सम्भावित सङ्क्रमितको विवरणसहितको सूची तयार पारी इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका साथै सम्बन्धित माशाखाका साथै सम्बन्धित प्रदेशमा आवश्यक अनुगमन तथा पहिचान गर्न पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७