बलिवुड अभिनेता इरफान खान आईसीयू भर्ना


१७ बैशाख २०७७, बुधबार
irrfan 20222665 103555258

नयाँदिल्ली, १७ बैसाख । बलिवुड अभिनेता इरफान खानको स्वास्थ्यमा जटिल समस्या आएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य अवस्था किन बिग्रियो, समस्या के हो र आईसीयूमा किन भर्ना गरियो, अहिले यसबारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन ।

अस्पताल स्रोतले इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएको र आईसीयूमा भर्ना गरेको बाहेक अन्य जानकारी दिन मानेका छैनन् । इरफान खानका परिवारले पनि अधिकारिक रुपमा अरु केही बताएका छैनन् ।

इरफान खानका एक प्रवत्ताले निकालेको बयानमा भनिएको छ, ‘इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको कुरा साँचो हो । उनलाई कोलन इन्फेक्शन भएको छ । हामी सबै उनको बारेमा जानकारी दिइरहनेछौं ।

अहिले उनी डाक्टरको निगरानीमा छन् । उनको शक्ति र साहसले उनलाई बिमारीसँग लड्न मद्दत गरिरहेको छ । उनको अपार इच्छा शक्ति र उनका चाहनेहरुको माया र आशिर्वादले उनी चाँडै नै ठिक हुनेछन् ।’

गएको वर्ष सन् २०१९ मा इरफान खान लण्डनमा उपचार गराएर फर्किएपछि कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा थिए ।

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौं पटक सुटिङ नै रोकिएको जनाइएको छ । भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो ।

लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ । ५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन् । उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए ।

दुई वर्षअघि सन् २०१८ मा इरफानले आफूमा बिमारी रहेको थाहा पाएका थिए । उनी आफैले यो खबर शेयर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७