बलिउड अभिनेता ऋषि कपूरको स्वास्थ्य अवस्था खराव, आईसीयूमा भर्ना


१८ बैशाख २०७७, बिहीबार
rishi kapoor 1200 20200204171859

मुम्बई, १८ बैसाख । बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको स्वास्थ्य अवस्था खराव भएपछि अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरिएको उनका दाइ रणधीर कपूरले जनाएका छन् । ‘ऋषि अहिले अस्पतालमा छन् । उनलाई क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या छ । अहिले उनको स्वास्थ्य स्थिर छ,’ भारतीय समाचार एजेन्सी पीटीआइलाई रणधीरले भनेका छन् ।

ऋषिलाई आईसीयूमा राखिएको र उनको स्वास्थ्य चिन्ताजनक रहेको खबरलाई रणधीरले इन्कार गरेका छन् । ऋषि दुई हप्तादेखि अस्पतालमा उपचाररत रहेको र आईसीयूमा भर्ना गरिएको खबर बुधबार साँझ फैलिएको थियो । रणधीरका अनुसार अस्पतालमा ऋषिको साथमा उनकी पत्नी नीतू कपुर छिन् ।

अमेरिकामा झण्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भर्ना भएका थिए ।

सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएका थियो । सामाजिक सञ्जालमा निकै सक्रिय ऋषिले अप्रिल २ यता केही पोस्ट गरेका छैनन् । त्यसअगाडि उनले दीपिका पादुकोणसँग फिल्म खेल्न लागेको घोषणा गरेका थिए ।

यो फिल्म हलिउड फिल्म ‘द इर्टन’को हिन्दी रिमेक हुनेछ । अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ । ६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७