कोरोनाले निम्त्याएको संकट र आयल निगमको सम्भावना


१८ बैशाख २०७७, बिहीबार
gopalchandra rai scaled

यतिबेला विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले अहिलेको वैज्ञानिक मानव सभ्यतालाई समेत चुनौती दिइरहेको छ । यसले मानिसको ज्ञान र मनोविज्ञानलाई मात्र नभएर आधुनिक चिकित्सा विज्ञानलाई समेत चौतर्फी समेत घेराबन्दीमा पारिरहेको छ । चीनको वुहान प्रान्तबाट शुरु भएको भनिएको कोरोना भाइरसले आजसम्म लगभग विश्वका सवै देशहरुमा पुगिसकेको अवस्था छ । खासगरी यो रोग विश्वका शक्तिशाली राष्ट्रदेखि साना राष्ट्रसम्म पुगेको देख्दा यसलाई कतिपय राजनीतिक विश्लेषकहरुले तेस्रो विश्वयुद्धको समेत संज्ञा दिन थालेका छन् ।
कोरोनाको संक्रमण फैलिन नदिनका लागि विश्वका अधिकांस देशहरुमा यतिबेला लकडाउन भइरहेको छ ।

समयमा नै सचेत रहन र रोग सर्न नदिन नेपाल सरकारले पनि २०७६ चैत्र ११ गतेबाट नेपाल राज्यभर लकडाउनको घोषणा गरेको छ । नेपाल सरकारले पटक–पटक गरी छैटौं पटकसम्म थपेको लकडाउन यहि २५ बैशाखसम्म जारी राखेको छ ।

विश्वमै यसले निकै ठूलो चेतनाको विकास गरेको छ । अझ नेपालमा आवश्यक पर्ने स्रोत र साधनहरुको निर्माण, कृषिमा औद्योगीकरण र प्रविधिको विकास गरी उत्पादनमा जोड दिन सरकारलाई चुनौति र अवसर दुवै दिएको छ ।


लकडाउनलाई अझै निरन्तरता दिने सोंचमा सरकार रहेको देखिन्छ । सरकारले यहिं भएको स्रोत र साधनहरुको समुचित प्रयोग गरी यसबाट आम जनतामा आधारभूत आवश्यकताको अभाव हुन नदिनका लागि सबैजसो उपाय अपनाएका छन् ।

संघ, प्रदेश र स्थानीय सरकारले आफ्ना जनताहरुका लागि गाँस र बासको उचित व्यवस्थापन गर्न विभिन्न शैलीहरु अपनाएर सेवा प्रवाह गरिरहेका छन् । तर पर्याप्त स्रोत र साधनहरु भने अनुकूल समय नभएपछि जति गर्छु भने पनि सोचे अनुसारको कामहरु हुन पक्कै पनि सकेको छैन । विश्वमै यसले निकै ठूलो चेतनाको विकास गरेको छ । अझ नेपालमा आवश्यक पर्ने स्रोत र साधनहरुको निर्माण, कृषिमा औद्योगीकरण र प्रविधिको विकास गरी उत्पादनमा जोड दिन सरकारलाई चुनौति र अवसर दुवै दिएको छ ।


यस पटक भने देश संकटमा परेका बेला (लकडाउनमा) नेपाल आयल निगमको योगदान ठूलै नभए पनि आम जनतालाई सहजै रुपमा ग्याँस उपलब्ध गराउन सफल भयो । निजी क्षेत्रको मात्र लगानी रहेको खाना पकाउने ग्याँस काठमाडौ उपत्यकालगायत केहि शहरहरुमा लगभग हप्ता दश दिन जति अभाव देखियो । यस समस्यालाई समाधान गर्न निगमले आफ्नो टेकु कार्यालयमा सबै ब्राण्डको ग्याँस सिलिण्डरहरु ल्याई घुम्ती सेवामार्फत सेवा प्रवाहलाई जारी राख्यो ।

बृद्धाश्रम, अनाथलय, विरामी घर, असाह्य, विरामी, क्वारेन्टाइनमा बसेका, हस्पिटमा रहेका विरामी, प्रसुती भएका, क्रियापुत्री (अशुभ काममा बसेका), अपाङ, सवारी साधन नभएका दैनिक ज्यालामा काम गर्ने मजदुरलगायतलाई भने घरसम्म ग्याँस पुर्यायो । निगमले इतिहासमै यस प्रकारको काम भने पहिलो पटक गरेको आम उपभोक्ताको बुझाई छ । उक्त विक्रीबाट आउने खुद मुनाफा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने जनाएको छ । यसअघि निगमले उक्त कोषमा ५० करोड रुपैया जम्मा गरिसकेको छ । उक्त कोषमा आएको सहयोग रकम हालसम्मकै उच्च रहेको निगमले जनाएको छ ।


खाना पकाउने ग्याँस सहज आपूर्ति र व्यवस्थापन गरिसकेपछि पेट्रोलियम पदार्थको सन्दर्भमा भविष्यमा आउने अनेकन संकटहरुको समाधान गर्नका लागि निगमले थप रणनीतिहरु तयार पारिरहेको छ । तर भएको स्रोत र साधनको उच्चतम उपयोगले मात्र निगमले आम उपभोक्तलाई सेवा प्रवाह गर्न सक्ने देखिन्न । यसमा थप बैज्ञानिक नीति तथा कार्यक्रमहरु निर्माण गरी आवश्यक योजनालाई नयाँ ढङ्गबाट समाधान गर्नु पर्ने देखिन्छ ।


लकडाउनको समयमा स्थालगत अध्ययन
लकडाउनको समयमा काठमाडौं, धादिङ, चितवन, नवलपरासी, नवलपुर, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, सुर्खेत, धनगढीलगायतका जिल्लाहरुमा प्रत्यक्ष देखिएका विषयहरुलाई छोटो तरिकाले तर जस्ताको तस्तै राखिएको छ ।

लकडाउन:– कतै जनताको सक्रिय समर्थन, कतै उल्लंघन
– काठमाडौमा अलि कडाई तर स्थानीय सरकारले आफ्नो जनताहरुलाई गाउँ फर्काउने भएपछि कलङ्की, कोटेश्वर, चावहिललगायतका मुख्य चोकहरुमा भने भिडभाड रहेको पाइयो ।


– धादिङका अधिकांश क्षेत्रमा खाना पकाउने ग्याँसहरुको उद्योगहरु रहेका छन् । ती ठाउँहरुमा मजदुरहरुको सक्रिय सहभागिता रहेको पाइयो, तर ती मजदुरहरुले स्वास्थ्य सुरक्षाका कवजहरु नभएको र आफ्नो परिवार–छरछिमेकका साथै इष्टमित्रहरुले समेत छिछि, दुरदुर गरेको गुनासो गरे । ग्याँस उद्योगमा काम गर्ने मजदुरहरुलाई आफू विरामी पर्दा स्वस्थ्य र औषधिको ग्यारेन्टी गरिदिए राम्रो हुने गुनासो गरे ।


– चितवनको लकडाउन काठमाडौ भन्दाअलि फरक तर जनजीवन सामान्य रहेको पाइयो । चितवनको ग्याँस उद्योगहरुमा पनि मजदुरहरुको स्वास्थ्यमा आउने समस्याहरुको समाधनमा सरकारले ग्यारेन्टी गरिदिनु पर्ने गुनासो ।


– रुपन्देहीको भलवारीमा भने इण्डियाबाट पेट्रोलियम पदार्थ बोक्ने गाडीहरु अधिकांश मात्रामा भैरहवा आउने भएकाले स्थानीय बासिन्दाहरुले इण्डियाबाट पेट्रोलियम पदार्थ नल्याउन निगमलाई आग्रह गरेको पाइयो । इण्डियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण गाडी र चालकहरुमा पनि रोग सर्ने सम्भावना भएको हुँदा त्यहाँबाट तेल नल्याउन आग्रह गरेको पाइयो ।


– कोरोना आतंकका कारण नयाँ मान्छे आउना साथ स्थानीय बासिन्दाको चर्काे निगरानी रहेको पाइयो । खाद्य सामाग्री र तरकारी किन्न समेत नयाँ मान्छेहरुलाई रोक ।


– नेपालगञ्जमा स्थानीय बासिन्दाहरु नै ढाट राखेर बसेको पाइयो । नयाँ मान्छे देख्ना साथ प्रवेश निषेध गर्दै थिए । आयल निगमका कर्मचारीहरुलाई कोरोना नेपाल ल्याउने संस्थान हो भन्दै आक्रोश समेत व्यक्त गरेको पाइयो । उनीहरुको माग पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरु भारत नपठाउनु पर्ने भन्ने रहेको थियो ।

– धनगढी र दाङमा लकडाउन रहेको पाइयो तर त्यति ठूलो प्रभाव देखिएन ।

– सुर्खेतमा अत्यावश्यक क्षेत्रमा काम गर्ने व्यक्तिको परिचयपत्रले समेत आवत–जावत गर्न नपाइने अवस्था देखियो । कडी÷कडाइका साथ लकडाउन पालना गरेको पाइयो ।

नेपाल आयल निगमले विभिन्न चुनौतिहरुका बीच पनि अब पेट्रोलिय पदार्थमा आम उपभोक्तालाई सहज र सरल ढङ्गबाट सेवा प्रवाह गर्नु यो अवसर पनि हो । संकटमा चुनौती मात्र होइन, नयाँ कार्यको खोजी गरी तत्परतापूर्ण सेवा प्रवाह गर्ने अवसर पनि हो ।

मजदुरहरुलाई भत्ता होइन सेफ्टीको व्यवस्था गर्नुपर्ने माग
पेट्रोलिय क्षेत्रमा काम गर्ने चालक, सहचालक र ग्याँस उद्योगमा काम गर्ने मजदुरहरुले सुरक्षाको कवज (पिपिई), स्यानिटाइजर, माक्स, ग्लोव्स्, ट्याङ्कर स्यानिटाइजेसन गर्ने प्रविधि भयो भने चाउचाउ र चिउरा खाएर पनि काम गर्न सकिने बताएका छन् । उनीहरुले स्वस्थ्य उपचारका लागि ग्यारेण्टी गर्न सके अझ काम गर्ने उत्प्रेरणा मिल्ने बताए ।


नेपाल आयल निगमले संकट समाधानका लागि चाल्नु पर्ने कदमहरु
नेपाल आयल निगमले विभिन्न चुनौतिहरुका बीच पनि अब पेट्रोलिय पदार्थमा आम उपभोक्तालाई सहज र सरल ढङ्गबाट सेवा प्रवाह गर्नु यो अवसर पनि हो । संकटमा चुनौती मात्र होइन, नयाँ कार्यको खोजी गरी तत्परतापूर्ण सेवा प्रवाह गर्ने अवसर पनि हो । त्यसकारण निगमले फरक ढङ्गबाट आफ्नो व्यवसायलाई प्रत्यक्ष जनतासँग जोडिने प्रकारको काम गर्न सकेन भने भविष्य संकट पर्दै जानेछ । यसका लागि केहि सुझावहरु प्रस्तुत गरिएको छ । सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।


– मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट संकटको समयमा देशैभरी वितरण गर्ने प्रावधान मिलाउनु पर्ने । त्यसरी विभिन्न ठाउँमा पुगेको पेट्रोलियम पदार्थहरुको मूल्य Cost Based Pricing को आधारमा क्षेत्रगत मूल्य निर्धारण गर्ने ।

– निगम आफैले २० किलोलिटरको ट्याङ्की कम्तिमा सय वटा खरिद गरी सञ्चालनमा ल्याउनु पर्ने ।
– निगमले देशको सातै वटा प्रदेशमा कम्तिमा एक–एक वटा आधुनिक प्रविधिको पेट्रोल पम्प स्थापना गर्ने ।

– निगमले देशको सातै वटा प्रदेशमा कम्तिमा एक–एक वटा आधुनिक प्रविधिको LPG Bottling Plant स्थापना गर्ने । आफ्नै लगानीमा ग्याँस बोक्ने बुलेट समेत खरिद गरी निगमको ब्राण्डमा देशैभरीका उपभोक्तासम्म सिलिण्डर पुर्याउने ।


– डिजेल र पेट्रोल दुबैको भारतबाट पेट्रोलियम पाइपलाइन नेपालसम्म बनाउने ।
– विश्वव्यापी रुपमा सन् २०३० सम्ममा पेट्रोलियम पदार्थको खपत न्यूनिकरण गर्ने भएको कारण अब निगमले Lube Oil / Bitumenभल को विक्री वितरण गर्नु पर्दछ ।
– विद्युतीय गाडीहरु नेपालमा भित्रदै गएका कारण आवश्यकताको आधारमा Charging Station हरु राख्नु पर्ने ।

petrol pump

हुन त यति मात्र पर्याप्त छैन । तर यति गर्नु पनि सरकारलाई निकै चुनौतिपूर्ण विषय बन्न सक्छ । त्यस कारण निगमले दीगो रुपमा यो संकटको समयलाई सदुपयोग गर्ने हो भने जनतासँग प्रत्यक्ष रुपमा पेट्रोलियम पदार्थको कारोवार गर्ने निकायको विकास गरिनु पर्दछ । कोरोनाको कारण लकडाउनले देखाएका बाटाहरु र यसलाई सरकारले चाहे जनताले साथ दिने समय भएका कारण निगमले यस अवधिलाई चुनौति मात्र होइन अवसरको रुपमा पनि लिन सक्छ । त्यसकारण सुझावहरुको प्रशोधन गरी आवश्यक पर्ने सुझावहरु कार्यान्वयनमा जोड दिद ैजनपक्षीय काममा लाग्नु असल सरकार र असल निगम व्यवस्थापनको बुद्धिमताभित्र पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७