मनकारी गोर्खा सैनिक, लकडाउनको समस्यामा परेकालाई दिए घरभाडा छुट


१९ बैशाख २०७७, शुक्रबार
Limbu sir

काठमाडौं, १९ बैसाख । विश्वव्यापी कोरोना महामारीका कारण नेपालीहरुको जनजीवनलाई समेत अस्तव्यस्त बनाएको छ ।

महिना दिनभन्दा लामो लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् । कोरोना कहरका कारण धेरैको नियमित आम्दानीको बाटो बन्द भएको छ । कोरोना कहरले समस्या सिर्जना गरिरहेका बेला सक्नेले नसक्नेलाई सहयोग गर्नु आजको आवश्यकता हो ।

तर, धन भएकाहरुले पनि कोरोनाको कहरमा परेकाहरुको समस्यामा कान थापेर बसिरहेका बेला एक मनकारी गोर्खा सैनिक (ब्रिटिस सेना) ले भने मन खोलेर समस्यामा परेकालाई सहयोग गरेका छन् ।

लकडाउनका कारण नियमित आम्दानी रोकिएर समस्यामा परेकाहरुको अप्ठ्यारोलाई मध्यनजर गर्दै तेह्रथुमका गजेन्द्र खवाहाङ् लिम्बूले मजदुरी गरी बस्ने चार परिवारलाई एक महिनाको घरभाडासहित अन्य सुविधामा छुट दिएका छन् ।

काठमाडौं महानगरपालिका– ६ सरस्वतीनगरस्थित आफ्नो घरमा बस्दै आएका चार परिवारलाई गरी ३३ हजार रुपैयाँ बराबरको भाडा छुट गरेका हुन् ।

विगत दुई दशकदेखि ब्रिटिस आर्मीमा कार्यरत लिम्बूले आफ्नो घरमा बस्दै आएका मजदुर परिवारलाई पानी, बत्ती, वाईफाई र फोहोरको समेत गरी एक महिनाको शुल्क नलिने घोषणा गरेका छन् । लकडाउनले नियमित आम्दानी रोकिएको र थोरैतिनो जोहो गरिएको रकम अन्य घरायसी काममा लगाउन पाउन भनेर भाडालगायतमा छुट दिएको लिम्बू बताउँछन् ।

आफू विदेशमा भए पनि नेपालमा रहेर समस्यामा परिरहेकालाई सानो भए पनि सहयोग गरेको उनी बताउँछन् । विश्वलाई समस्यामा पारेको कोरोना भाइरसको कहरमा आफूले सकेको सहयोग गर्नु कर्तव्य र दायित्व समेत भएको बताउने लिम्बू समस्यामा नपरेकाले समस्यामा परेकालाई सकेको सहयोग गर्न सके उनीहरुको जीवनयापनमा केहि सहजता मिल्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७