पाइलटका कारण दुर्घटनाको संघारमा नेकपा


२० बैशाख २०७७, शनिबार
design ok

साविकको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको दुई बर्ष भएको छ । वि.सं. २०७५ साल असार ३ गते २५औं मदन–आश्रित स्मृति दिवसको अवसर पारेर एकता भएसँगै नेपाली राजनीतिक इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बन्यो ।

पार्टी एकता पूर्व एमालेको अध्यक्ष रहनुभएका केपी शर्मा ओली र माओवादी केन्द्रको अध्यक्ष रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संयुक्त अध्यक्ष बनाउँदै पाटी एकताको घोषणा भयो । थुप्रै नेता, कार्यकर्ता एवं शुभेच्छुक, शुभचिन्तकहरुमा अन्यौलता थियो कि दुई वटा अध्यक्ष बनाएर पार्टी कसरी अघि बढ्ला ? यो अन्यौलतालाई चिर्दै पार्टीको एकता सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएको थियो, ‘कतिलाई लाग्ला दुईटा अध्यक्ष भए के गरेको यो ? टेम्पो चलाए जस्तो होइन, जेट हो दुईटा हुन्छ पाइलट । आवश्यकताले यस्तो कुराहरु ल्याउँछ ।

एउटा महाअभियान हामीले चलाउनुछ । त्यो महाअभियान चलाउन हामी दुई जनाले सल्लाह गरिगरी, विचार विमर्श गरिगरीकन, बिश्लेषण गरिगरीकन अगाडि बढाउने अठोट गरेका छौं, संकल्प गरेका छौं ।’

तत्कालीन समयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको उल्लेखित भनाई खुबै चर्चामा रह्यो । अहिले पनि उत्तिकै स्मरणीय छ । त्यसताका पार्टीमा कति जना अध्यक्ष रहनेभन्दा पनि सबैको ध्यान राजनीतिक स्थिरता, लोकतन्त्रको संस्थागत विकास गर्दै समाजवाद उन्मुख संविधानको जगमा सम्वृद्धिको महाअभियानमा बढ्नेतिर थियो ।

पार्टीको एकता घोषणा सभालाई नै सम्बोधन गर्दै पार्टीका अर्का अध्यक्ष प्रचण्डले भन्नु भएको थियो, ‘विश्वास दिलाउन चाहन्छु, हामी जनताको अगाडि गरिएको प्रतिबद्धताबाट कदापी विचल्लित हुने छैनौं । अब नयाँ युगको शुरुवात भयो । अस्थिरता, अराजकताको भुँवरीको पुरानो युग समाप्त भयो । अब स्थितरता, विकास, समृद्धि र सुशासनको नयाँ युग शुरु भयो ।’

आंशिक बाहेक पार्टी एकताका सबै काम सकिएको छ । पार्टी एकताको पुग नपुग दुई बर्ष हुँदा दुई पाइलटमा खटपटी शुरु भएको छ । दुई जना पाइलटका बीचमा शुरु भएको कलहले नेकपा नामको जेट विमान दुर्घटनाको संघारमा पुगेको छ । एकातिर दुई बीचको सल्लाह, विमर्श, बिश्लेषणको खडेरी देखिन्छ, जसले सकारात्मक सन्देश दिइरहेको छैन ।

अर्कातिर पार्टी नेतृत्वमा विद्यमान कलहको दीर्घकालीन समाधान नखोज्ने हो यदी भने पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुक, शुभचिन्तकको मुहारमा रहेको एकताको उत्साह र हौसला निराशामा परिणत हुने देखिन्छ ।

एकता भएको बखत थुप्रै एमालेका नेता कार्यकर्ताहरुलाई लागेको थियो हामी जस्तो सुदृढ र कार्यकर्ता पंक्ति भएको पार्टीलाई केपी ओलीले माओवादीमा लगेर मिसाए । थुप्रै माओवादीहरुलाई लागेको थियो हामी जस्तो क्रान्तिकारी कार्यकर्ताको पंक्तिलाई प्रचण्डले एमाले जस्तो पार्टीमा मिसाए ।

तर राष्ट्र र राष्ट्रियता बलियो हुनुपर्छ भन्ने नेकपा मात्रै होइन कि अन्य दलहरुले समेत पार्टीको एकता यो युगको आवश्यकता हो भनेर हर्षित भए । त्यही हर्ष आज आएर नेतृत्वको कार्यशैलीको कारण पानीको फोका नबन्ला बन्न सकिन्न ।

वि.सं. २०६२र०६३ को शान्तिपूर्ण जनक्रान्तिपछि नेपालको राजनीति प्रचण्डको व्यवस्थापनको वरिपरी घुमेको छ । यसबीचको सबै राजनीतिक अस्थिरताको मियो पनि वहाँ नै हो । वहाँलाई एक्ल्याएर वहाँको व्यवस्थापनमाथि प्रश्न उठाउनु भनेको राष्ट्रिय राजनीतिमा फेरि एक पटक अस्थिरता निम्त्याउनु हो । तर आम मानिसको बुझाई पार्टी एकतापछि प्रचण्डको दीर्घकालिन व्यवस्थापन भयो भन्ने नै थियो ।

सिंगो विश्व कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । यद्यपी सरकारको जिम्मेवार भूमिका र आम मानिसको अनुशासित व्यवहारका कारण यसले नेपालमा महामारीको रुप लिन पाएको छैन । अझ अहिले त नेकपाभित्रको अन्तरविरोधले सबै कुरालाई ओझेलमा पारिदिएको छ ।

पार्टी र सरकारलाई अहित हुनेगरी काम गर्दै जाने र त्यसको पक्ष, विपक्षमा हुल बाँधेर प्रचारबाजी गर्ने तरिका रमाईलै छ । नेकपा भित्रका सबै नेताहरुको योगदान, क्षमता र सीमा के कति हो भन्ने बारेमा सबैलाई थाहै छ ।

यसबीचमा पार्टी एकता त भयो तर एकता अंक गणितमा मात्रै भयो । पार्टी एकता भए पनि नेता, कार्यकर्ताको बीचमा भावनात्मक एकता हुन सकेन जसको कारण क्यामेष्ट्री अन्तर घुलन हुन सकेन । फलस्वरुप आज नेकपाभित्र समस्याको पहाड ठडिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको करिब दुई तिहाईको कम्युनिष्ट सरकार समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा अगाडि बढ्दो छ । दुई नम्बर प्रदेश बाहेक सबै प्रदेशहरुमा कम्युनिष्ट पार्टीको सरकार छ, दुई तिहाईभन्दा बढी स्थानीय सरकारहरुको संचालन कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरुले गरिरहेका छन् ।

यो नेपाली राजनीतिक इतिहासमा कम्युनिष्ट पार्टीको अभूतपूर्व सफलता हो । सीमित स्रोत, साधन र कतिपय सीमाहरुका बीचबाट सरकारले काम अघि बढाईरहेको छ । यद्यपी यसबीचमा सरकारले भ्रष्टचारमा शून्य सहनशिलताको नीति लिएको भए पनि माथिदेखि तलैसम्म मौलाउँदै गएको सत्य हो ।

भ्रष्टचार, तस्करी, कालोबजारीको विरुद्धमा सरकार निर्मम रुपमा प्रस्तुत भएपनि सबैको प्रहारको केन्द्रविन्दु सरकार बनेको सत्य हो । एकातिर सरकारका सानातिना कमी कमजोरीमा रोइलो मच्चाउनेहरु सक्रिय छँदैछन्, अर्कातिर साविक एमालेभित्र पनि माधव नेपाल समूहले आफूहरुमाथि अन्याय गरेको, विभेदपूर्ण व्यवहार गरेको नारा पार्टी एकताको समयदेखि नै लगाउँदै आएको अवस्था छ ।

यसबीचमा पार्टीभित्र कम छलफल र परामर्शका बीचबाट दल विभाजन र संवैधानिक परिषद् सम्बन्धि विधेयक अध्यादेशमार्फत् ल्याउपछि नेकपाभित्रको विवाद उत्कर्शमा पुगेको छ । सबैतिरबाट प्रश्न उठेपछि कमजोरी महसुस गरेरै होला प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिइसकेको अवस्था छ ।

वस्तुगत ढङ्गले हेर्ने हो भने यो कदम प्रधानमन्त्रीले कमजोरी गरेको मात्रै होइन, सच्याएको रुपमा समेत लिनुपर्दछ । जसरी पार्टी भित्रबाटै प्रधानमन्त्रीलाई नै नेकपा फुटाउनलाई अध्यादेश ल्यायो भन्ने आरोप लगाईयो, यो अत्यन्तै कच्च बिश्लेषण थियो ।

यस्तो आरोप लाउनेहरुलाई हेक्का हुनुपर्दछ कि पार्टी एकता अध्यादेशले गरिदिएको होइन । केपी शर्मा ओली र प्रचण्डकै बोल्ड डिसिजनले भएको थियो । वि.सं. २०७० सालसम्म पार्टीको आन्तरिक जिवनमा सधैं प्रतिपक्षीको व्यवहार गरिएको केपी शर्मा ओलीले आज पार्टीको अध्यक्ष र दुई तिहाई बहुमतसहितको सरकारको प्रधानमन्त्री भएको बेला पार्टी फुटाउँछ भनेर प्रचार गर्ने सबै भँडुवा हुन् ।

आज केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउन लाग्दा वा गिराउन लाग्दा सिंगो मुलुक असफल बन्छ र आम नेपालीको शिर निहुरिनेछ भन्ने हेक्का सबैले राख्न जरुरी छ । मुख्य गरेर नेकपाभित्र प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका केही शीर्ष नेताहरुले पकाई रहेको खिचडीले नेकपा मात्रै होइन देशलाई नै दुर्घटनातिर धकेलिरहेको छ ।

जहाँसम्म प्रश्न उठ्छ कि ओलीले ल्याएको अध्यादेश, बामदेवलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको कार्ड के हो ? यी सबै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि पार्टीभित्र भइरहेको षड्यन्त्र र छलछामको प्रतिवाद मात्रै हो, अरु केही होइन ।

अध्यादेश मौसमको बाजा थियो वा बेमौसमको बाजा थियो यो छुट्टै बहसको बिषय होला । तर आज पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा ओलीको विकल्प खोज्नु चाहीं शतप्रतिशत बेमौसमी खिचडी हो । जसले नेकपा मात्रै होइन कि सिंगो देशलाई नै दुर्घटना गराउनेछ । जसका पछाडि षड्यन्त्र र छलछामको जालो मात्रै छ । पार्टी अध्यक्षको हेरफेर पार्टीको आगामी महाधिवेशनले गर्नुपर्दछ र प्रधानमन्त्रीको हेरफेर आगामी निर्वाचनपछि गर्नु पर्दछ । यो भन्दा अर्को पनि विकल्प त होला तर त्यसको परिणाम दुःखद् हुन्छ ।

पछिल्लो समय संविधान संशोधन गरेर भए पनि बामदेवलाई राष्ट्रियसभामा ल्याएर प्रधानमन्त्री बनाउन प्रचण्ड आफैं अघि सर्नु, उक्त प्रयास असफल भएपछि माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा अघि सार्नु, चैत्रको पहिलो साता सूर्यबहादुर थापाको छोराको सुनिलबहादुरको निवासमा कांग्रेस र भारतीय दुतावासको प्रतिनिधिसहित गोप्य वार्ता गर्नु लगायतले पार्टीभित्रकै एउटा पंक्तिले देशमा फेरि अस्थिरता नै रुचाएको हो कि जस्तो देखिन्छ ।

अझ एउटा टेलिभिजन कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले दिनु भएको अन्तरवार्ताले त केपी शर्मा ओलीमाथि भइरहेको घेराबन्दीको नयाँ खुलासा गरिदिएको छ ।

हिमालय टेलिभिजनसँगको अन्तरवार्तामा वहाँले भन्नु भएको छ कि, ‘माधव नेपाललाई लगेर ललिता निवासको केशमा फसाउन खोज्ने, अझ प्रचण्डलाई कुनै मुद्धा लगाएर फसाउने वातावरण बनाएर मैदान खाली गर्ने ज खालको खेल शुरु भयो नि यसैले शुरु भएको हो पार्टीभित्र अन्तरद्वन्द्व ।’ यो अभिव्यक्ति अत्यन्तै निन्दनीय छ ।

अन्ततः नेकपाका पाइलटद्वय ओली र प्रचण्डका बीचमा उच्चस्तरको एकता र हार्दिकता अपरिहार्य छ । काम गर्ने सन्दर्भमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली र अरु सबैबाट भएका कमी कमजोरीहरुको निर्मम समिक्षा गरेर पार्टीलाई थप एक ढिक्का, एकताबद्ध बनाएर अगाडि बढाउनु पर्दछ । समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा सरकारलाई थप प्रभावकारी रुपमा अघि बढ्नको लागि प्ररित गर्नुपर्दछ । जनताको मत स्थितरताको लागि थियो, विकास र समृद्धिको लागि थियो ।

आज म्युजिकल चेयर गेम खेलेको जस्तो रुपमा प्रधानमन्त्रीको कुसीलाई लिने भूल कसैले गर्नु हुँदैन । पछाडि फर्किने सबै बाटोहरु भत्काएर नेकपा बनेको हो । अहिले नेतृत्वमा भएकैहरु कसैले पनि पार्टी फुटाउँछन् भन्ने भ्रम पाल्नु उचित हुन्न । किनकी नेकपाको भविष्यसँग नेपाल र तीन करोड नेपालीको भविष्य जोडिएको छ भन्ने सबै नेताहरुले बुझेका छन् । जो सँग पार्टीलाई दुर्घटना हुनबाट जोगाउने चेत पनि छ भन्ने विश्वास गर्नुपर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७