मेसीको जर्सीमा स्टर्लिङको आँखा


२१ बैशाख २०७७, आईतवार
messi 20190217011015

लण्डन, २१ बैसाख । इङ्ल्याण्डको राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी हुन्, रहिम स्टर्लिङ ।

उनी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्छन् । २५ वर्षीय आक्रामक मिडफिल्डर स्टर्लिङले म्यानचेस्टर सिटीमा आबद्ध हुनुअघि करिब तीन वर्ष लिभरपुलमा पनि बिताएका थिए ।

स्टर्लिङले विभिन्न क्लबबाट महत्वपूर्ण उपाधि पनि जितेका छन् । आफ्नो सक्रिय खेल जीवनमा उनले एक सयको हाराहारीमा गोल पनि गरेका छन् । कतिपय अवस्थामा उनकै गोल टोलीमो सफलतामा निर्णायक पनि बनेको छ । इङ्ल्याण्डको राष्ट्रिय टोलीबाट ५६ खेल खेलिसकेका यी प्रभावशाली खेलाडीको सपना भने गजबको छ ।

स्टलिङ भन्छन्, ‘मलाई अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको जर्सीसँग मोह छ । जबसम्म मेसीको जर्सी मेरो हातमा पर्दैन तबसम्म म सन्तुष्ट रहन सक्दिनँ ।’ खासमा उनी विश्व फुटबलसँग सम्बन्धित वस्तुहरू संकलन गर्न रुचाउँछन् । चर्चित खेलाडीहरूको जर्सी संकलन पनि उनको सोख हो ।

‘यतिबेला मैले हृदयदेखि चाहेको एक मात्र कुरा भनेको मेसीको जर्सी नै हो’, स्टर्लिङ भन्छन्, ‘मैले आफ्नो जीवनमा सबैभन्दा पहिले मागेको जर्सी नेमारको हो । बार्सिलोनासँगको खेलपछि मैले नेमारसँग उनको जर्सी मागेको थिएँ । अब मेरो चाहना मेसीको जर्सी हात पार्नु हो ।’

सक्रिय खेल जीवनबाट सन्यास लिनुअघि चर्चित खेलाडीहरूको जर्सी संकलन गर्नु आफ्नो सोख भएको स्टर्लिङ बताउँछन् । ‘खेल जीवनबाट सन्यास लिएपछि म घरमा आराम गरेर बस्ने छु । त्यतिबेला आफूले जितेका मेडल र ट्रफीसँगै चर्चित खेलाडीहरूको जर्सी मेरो दिन बताउने गतिलो आधार बन्ने छन्’, स्टर्लिङ भन्छन् ।

स्टर्लिङका अनुसार, मेसीको जर्सी उनको सूचीमा पहिलो नम्बरमा रहेको छ । ‘म युवा अवस्थामा हुँदा मलाई प्रभाव पार्ने र प्रोत्साहन दिने बार्सिलोनाका दोस्रो खेलाडी मेसी नै हुन्’, उनले भनेका छन् । त्यसो भए पहिलो खेलाडी को हो त ? स्टर्लिङ भन्छन्, ‘पहिलो खेलाडी हुन्, आफ्नो समयका चर्चित ब्राजिलियन स्टार रोनाल्डिन्हो ।’

स्टर्लिङले आफ्नो खेल जीवनमा पहिले रोनाल्डिन्हो र त्यसपछि मेसीको महत्वपूर्ण योगदान रहेको बताए । ‘जब युवा अवस्थामा म घण्टौं फुटबलको अभ्यास गर्थें त्यतिबेला रोनाल्डिन्हो र मेसीको शैलीले नै मलाई पछ्याइरहेको हुन्थ्यो’, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् ।

उनले मेसीको भलादमीपनबाट पनि आफू निकै प्रभावित भएको बताएका छन् । ‘उनी (मेसी) नयाँ र पुरानो पुस्तालाई जोड्ने पुल पनि हुन् । खासगरी उनको भद्रताले सबैलाई प्रभावित पार्छ र म पनि त्यसबाट अछुतो रहन सक्दिनँ’, उनले भनेका छन्, ‘मलाई विश्वास छ कुनै दिन उनको जर्सी मेरो हातमा हुनेछ ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७