नेपालगञ्जका नौंसहित नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण


२१ बैशाख २०७७, आईतवार
bikash devkota

काठमाडौं, २१ बैसाख । नेपालमा धेरै दिनपछि आज (आइतबार) एकै दिन ठूलो संख्यामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

नेपालगञ्जमा एकै दिन नौं जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्साको छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो । डा. देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा नौं र पर्सामा एक गरी एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

जसमध्ये १६ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । १३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ४ र बाहिर ७३ गरी कुल ७७ जना अस्पतालको आइसोलेसनमा छन् । २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७