भारतबाट आएर भागेका १९ जना क्वारेन्टाइनमा


२२ बैशाख २०७७, सोमबार
quarentine dhanusa YgJKNGipGz

बैतडी, २२ बैशाख । भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ । भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय नागरिक क्वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको हो ।

जिल्लाको दशरथचन्द नगरपालिकाका २१ मध्ये १९ जना क्वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्वारेन्टाइनमा ल्याएको छ । क्वारेन्टाइनमा नबसी घर गएकालाई घरबाटै खोजेर क्वारेन्टाइनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

सीमाबाट फर्केका जनप्रतिनिधि, स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा बस्न नमानेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले भारतबाट फर्केका हरेक नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने निर्देशिका जारी गरेको छ तर त्यसको विपरीत भारतबाट फर्केका घरमा गएपछि प्रहरीले घरबाटै खोजेर क्वारेन्टाइनमा राखेको हो ।


जिल्लाका अरु ठाउँका नागरिक क्वारेन्टाइनमा नबसेको जानकारी आएको छैन । त्यस्तो जानकारी आएमा प्रहरीले खोजी गरेर क्वारेन्टाइनमा ल्याउने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।गएको बिहीबार झुलाघाट नाकाबाट एक हजार २९९ नागरिक स्वदेश फर्किएका थिए । त्यस्तै धारचुला नाकाबाट पनि धेरै नागरिक स्वदेश फर्किएका थिए । दुवै नाकाबाट बैतडीको पुर्चौंडीका मात्रै ८४८ स्वदेश फर्किएका छन् ।

यसैबीच कोरोनाको जोखिम बढेको भन्दै बैतडीको भारतसँग सीमा जोडिएका घाटहरू बन्द भएको एक महिना बढी भइसकेको छ । बैसठ्ठी किलोमिटर सीमा क्षेत्रमा सुरक्षार्थ सशस्त्र प्रहरीसमेत खटाइएको छ तर पनि विभिन्न ठाउँबाट ट्युबबाट महाकाली तरेर आउने क्रम अझै रोकिएको छैन । शनिबार मात्रै महाकाली नदी तरेर शिवनाथ गाउँपालिकाका १० भन्दा बढी नागरिक भित्रिएका छन् ।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ । महाकाली नदीमा ट्युबमार्फत आउने मानिस लुकेर आउँदै सिधै घरमा गएर बसेका हुनसक्ने भएकाले प्रहरीले भारतबाट आएकाहरु खोजी गर्ने कार्य भने तीव्र पारेको छ ।

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

अपाङ्गता भएका नागरिकको पुनःस्थापना केन्द्र बैतडीले सुर्नया गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अपाङ्गता भएका नागरिकको पुनःस्थापना केन्द्रका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिए ।

केन्द्रले गाउँपालिकालाई २०० बोतल स्यानेटाइजर, एक हजार थान सर्जिकल मास्क, २० थान एन ९५ मास्क, एक थान इन्फ्रारेड थर्मामिटर र ७२ वटा साबुन हस्तान्तरण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।

केन्द्रले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई केही सजिलो हुने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७