नेपाली युवा दिवेश अमेरिकन आइडलको टप टेनमा


प्रकाशित मिति : May 4, 2020

अमेरिका, २२ बैसाख । नेपाली मुलका युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उत्कृष्ट १० (टप टेन) मा प्रवेश गरेका छन् ।

जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी ‘आर्थर गन’ का नामले चिनिएका दिवेश टप टेनमा उक्लिन सफल भएका हुन् । अमेरिकन आइडलको लाइभ सोमा उत्कृष्ट १० मा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

दिवेशले फेसबुकमार्फत आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिँदै आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफ्नै घरमा आइतबार साँझ गितार बजाउँदै प्रस्तुति दिएका थिए । कोरोना भाइरस (कोभिड(१९) महामारीका कारण आइडलका प्रतिस्पर्धीले घर–घरबाटै प्रस्तुति दिएका हुन् ।

दिवेशको प्रस्तुतिपछि निर्णायक लियानेल रिचीले निकै प्रशंसा गरेका छन् । दिवेशले जोन डेन्भरको गीत गाएको शैली वास्तवमै अकल्पनीय भएको उनले बताएका छन् ।

कामाठाडैंमा जन्मिएका गायक पोखरेल सन् २०१३ मा अमेरिका पुगेका हुन् । यसअघि उनले न्यानो घर, मन, समुन्द्रपारी, कर्णाली, प्रलय ए, र प्रलय बीजस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्