बैंकको ब्याज मिनाहा हुँदैन, अल्पविकसित देशमा ब्याजदर बढी नै हुन्छ : गभर्नर अधिकारी


२३ बैशाख २०७७, मंगलवार
governar

काठमाडौं, २३ बैसाख । लामो समयको लकडाउनले व्यवसाय बन्द हुँदा बैंकको ऋणमा सहुलियता माग भइरहेका बेला गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋणमा सहुलियत दिन नसकिने बताएका छन् ।

गभर्नर अधिकारीले व्यवसायीको माग अनुसार बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने स्पष्ट पारेका हुन् । मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीतिसम्बन्धी छलफलमा सहभागी उनले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको बताएका हुन् ।

‘ब्याज मिनाहको माग त आउँछ । आइरहेको पनि छ । तर त्यो सम्भव छैन,’ उनले भने । व्यवसायीले तिर्नुपर्ने ऋणको भाका सार्न भने सकिने गभर्नर अधिकारीले बताएका छन् । उनले थपे, ‘अहिले ब्याज तिर्नपर्ने तनावमा नपर्नुहोस् । भोलि त तिर्न परिहाल्छ । अहिलेलाई समय सार्ने, व्यवसायमा अप्ठेरो नपरोस् भन्नेमा छौं’, उनले भने ।

बैठकमा सांसदहरुले नेपालमा बैंक ब्याजदर बढी रहेको भन्दै कम गर्नुपर्ने बताएका थिए । जवाफमा गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने बताए ।

उनले वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको समेत बताएका छन् । सांसदहरुको प्रश्नमा गभर्नर अधिकारीले पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको बताए ।

बैठकमा उनले अर्काे वर्ष रेमिट्यान्स र राजश्वका स्रोतहरु घट्दा अर्थतन्त्र अप्ठेरोमा पर्न सक्ने विषयलाई समेत ख्याल गरी मौद्रिक नीति बनाउनुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७