लकडाउनका बेला घरमै सामाजिक सुरक्षाभत्ता


२५ बैशाख २०७७, बिहीबार
money

जुम्ला,२५ बैशाख । लकडाउनका बेला जुम्लाका स्थानीय तहले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पुर्‍याउन थालेका छन् ।

यसअघि सामाजिक सुरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने गरिएकामा लकडाउनका कारण सर्वसाधारण वित्तीय संस्थासम्म पुग्न कठिन हुने भएकाले घरघरमै पुर्‍याउन थालिएको हो ।

जिल्लाको तिला गाउँपालिकाले लकडाउनको बेला घरमै सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । गाउँपालिकाले स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको हो । गाउँपालिकाले दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता निकासा गरेपछि प्रत्येक वडावासीको घरमा पुगेर वितरण गर्न वडाध्यक्ष र सचिवलाई परिचालन गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

हिमा गाउँपालिकाले पनि सात वडाभित्रका स्थानीयका घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । जिल्लाको तातोपानी गाउँपालिकाले १ देखि ६ वडाका स्थानीयवासीको सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गरेको छ भने ७ र ८ वडाका स्थानीयको घरघरमै पुगेर वितरण गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

गुठीचौर गाउँपालिकाले दुई हजार १९६ जनालाई दोस्रो चौमासिक सामाजिक सुरक्षाभत्ता वितरण गर्न रु एक करोड २६ लाख छ हजार ८०० रकम निकासा भएको जनाएको छ । ३–५ वडाभित्रका स्थानीयवासीलाई बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको गाउँपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख गोपीचन्द्र प्याकुरेलले बताए। भौगोलिकरूपमा १ र २ वडा टाढा भएकाले घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको उनको भनाइ छ ।

लकडाउन अवधिमा १० हजार ७०८ गृहजिल्ला आएका नागरिकमध्ये ३५६ क्वारेन्टाइनमा बसेका छन् भने ७४७ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७