बन्दाबन्दीमै भूपू भारतीय सैनिकलाई २८ करोड पेन्सन वितरण


२६ बैशाख २०७७, शुक्रबार
gorkha

म्याग्दी, २६ बैसाख । म्याग्दीका भारतीय सेनाको सेवाबाट निवृत्त भएका ७०० भूपू भारतीय सैनिकलाई २८ करोड पेन्सन वितरण गरिएको छ ।

भारतीय राजदूतावासअन्तर्गत बेनीस्थित जिल्ला सैनिक बोर्डले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका बीच आफ्ना भूपू सैनिकलाई पेन्सन वितरण गरेको हो । म्याग्दीका भूपू सैनिकलाई एभरेष्ट बैंकको बेनीस्थित सेवा केन्द्र गोरखा सैनिक सहकारी संस्थामार्फत मङ्गलबारदेखि बिहीबारसम्म वितरण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर म्याग्दी र पर्वतका सैनिकलाई बुधबारसम्म पेन्सन वितरण गरिएको गोरखा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेकबहादुर रावलले बताए ।

उनका अनुसार ७०० भूपू सैनिकलाई रु २८ करोड पेन्सन वितरण गरिएको छ । एभरेष्ट बैंकमार्फत पेन्सन लिनेलाई बेनीमा गोरखा सैनिक सहकारीले भुक्तानी गर्दै आएको छ । गत वर्ष बेनीमा जिल्ला सैनिक बोर्ड स्थापना र एभरेष्ट बैंकको सेवा केन्द्र खुलेपछि भूपूहरुलाई राहत मिलेको छ ।

पेन्सन लिनका लागि बागलुङ जानुपरेको छैन । कतिपय भूपूहरुले सिधै बैंक खातामा पेन्सन जम्मा गर्छन् । ६–६ महिनामा पेन्सन वितरण गर्छ । कोरोनाको त्रास र लकडाउनका कारण प्रभावित भएको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन भूपूहरुको पनि योगदान रहने भूपू सैनिक कल्याणकारी सङ्घ म्याग्दीका अध्यक्ष मीनबहादुर कार्कीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७