नर्स


३० बैशाख २०७७, मंगलवार
bishnubal rai scaled

मिठो मुस्कान
कोमल हात
सफा हृदय
सेतो कोटमा मुस्कुराई रहेकी
एउटा भगवानको रूप
जो आफ्नो वर्तमान
अरूको भविष्यको लागी
स्व:स्फुर्त खर्चिरहेकी हुन्छिन्

सैयामा छटपटाई रहेका
अन्धकार भविष्यहरूमा
सेतो कोटमा जुन्किरि झैँ
झिपिक झिपिक बत्ती बल्दै
ती भविष्यहरूलाई खोजिदिन्छिन्
आफ्ना भविष्यलाई
थाती राख्दै- राख्दै

घाउहरू चर्किरहेको वस्तिहरूले
उनलाई नै कुरिरहेको हुन्छ
अनेकौँ शीतलताको सपनामा
अनि उनी
मलहम बनी पुगी दिन्छिन्
ती वस्तिहरूमा
बिना प्रवाह
आफ्नै सपनाको
आलो घाउ चर्काउँदै-चर्काउन्दै

सिरिन्जका खोलहरू च्यात्दा- च्यात्दै
आफ्नो जिन्दगीको खोलहरू
च्यातिएको प्रवाह छैन उनलाई
किनकि,
ती, सिरिन्जका खोल च्यात्दै गर्दा
आफ्नो जिन्दगीको खोल च्यातिँदै गर्दा
हजारौँका फाटिएका
जिन्दगीका खोलहरू टालिरहेकी हुन्छिन् ।

हरेक सैयामा पुगी
सलइनका बोतल फेर्दा-फेर्दै
आफ्नो सपनाको
बोतलहरू रित्त्यैदिन्छन्
किनकि,
उनले ती बोतलहरू फेर्दै गर्दा
कयौँका सपनाका बोतल भरिदिन्छन्
आशाका बोतल भरिदिन्छन्
अनि,उनी आफूलाई महसुस गर्दै
मुस्कुराउँदै भन्छिन्
म कहाँ रित्तो छु र !

उनी मात्रै एउटा
यस्तो मानव रूप हो
जो बहुरुपी छिन्
हरेक रातहरू
हरेक दिनहरू
के रातहरू
के दिनहरू
उनी बनिदिन्छिन्
रातमा पूर्णिमाको जुन
अनि,
दिनमा तापिलो घाम
मृत्यु सँग लडिरहेको
प्रत्येक वस्तिहरूमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७