फुटबलमा प्रहरी च्याम्पियन


६ माघ २०७४, शनिबार
1200px Football iu 1996

 

काठमाडौं: नेपाल प्रहरीले राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

दाङको घोराहीमा भएको फाइनलमा प्रहरीले नेपाल आर्मीलाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

प्रहरीका सुमन लामा, बुद्ध लामा, तेज तामाङ, दिनेश राजवंशी र निरकुमार राईले गोल गरे । आर्मीका जर्ज प्रिन्स कार्की, हिरण्य मगर, विवेक बस्नेत र रुपेश केसीले गोल गरे । राजिव गुरुङ भने चुके ।

एपीएफ र सुदूरपश्चिमाञ्चलबीच तेश्रो स्थानका लागि भएको खेलमा एपीएफ टाइब्रेकरमा ४–३ ले विजयी भयो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । सुदूरपश्चिमाञ्चलका मणिराम चौधरीले ३३ मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा एपीएफका महेश लामाले गोल गर्दै खेललाई १–१ को स्थितिमा पु¥यो । फेरि मणिरामले ६३ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमाञ्चललाई २–१ को अग्रता दिलाए । ९० औं मिनेटमा एपीएफका आशिष लामाले बराबरी गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा धलेलिएको थियो ।

पेनाल्टीमा एपीएफका आशिष लामा, सन्तोष कटुवाल, मानबहादुर राणा र सुमित आलेले गोल गरे भने दीपक खड्का चुके । सुदूरपश्चिमाञ्चलका प्रकाश हमाल, सुनील धामी र राजन ठगुन्नाको प्रहारले सहि दिशा लियो । कृष्ण कठायत र निर्धारित समयमा २ गोल गरेका मणिराम चुके ।

माघ २ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय गरी ८ टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनलअघिका खेलहरु तुल्सीपुर र घोराहीमा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७