कोरोनाले उप्काएका पूर्व गोर्खाका व्यथा

नेपालमा बसेर सोचे जस्तो सजिलो छैन पूर्व गोर्खाको बेलायतको बसाइँ


प्रकाशित मिति : May 13, 2020

लण्डन, ३१ बैशाख । पोखरा मुस्ताङ चोकको घर सिन्कीको भाउमा बेचेर सन् २०१२ मा बेलायत पसेकी ६७ वर्षीया कान्छीमाया पुन आठ वर्ष लण्डनको नर्थहोल्टमा बसिन् ।

केही वर्षअघि श्रीमान् गुमाएकी पुनको बुढेसकालको सहारा सन्तान सबै नेपालमै छन् । उनले यहाँ भोगेका दिनहरु निकै कठिन छन् । अस्पताल जानुपर्‍यो भाषाको समस्या । दोभाषे पनि सधैं नपाइने । अस्पताल जान कुन बस चढ्नुपर्ने हो भन्ने मेसो आफैले नपाउने । लण्डनको व्यस्त जीवनमा सामान्य कामका लागि पनि कति दिन कोसँग सहयोग मागिरहनु ?

यही हैरानी सहन गाह्रो भएर दुई महिनाअघि उनले सधैंका लागि नेपाल जाने निधो गरिन् । साथीभाइको सहाराले यहाँको अध्यागमन कार्यालयमा निवेदन दिइन् । स्वेच्छाले स्वदेश फर्किन चाहनेहरूका लागि यहाँको अध्यागमन विभागमा ‘भोल्युन्टरिली रिटर्न सर्भिस’ सञ्चालनमा छ । सोही कार्यक्रमको सहायताले उनी नेपाल फर्किन् ।

यसमा रहेका केही मापदण्ड पूरा भएपछि स्वदेश पठाइने व्यवस्था छ । नेपाल जान जहाजको टिकट निःशुल्क दिन्छ भन्ने सुनेर निवेदन दिएकी कान्छिमाया बेलायतमा बन्दाबन्दी हुनुभन्दा एक हप्ताअघि मात्र घर पुगिन् ।

पहिले सधैं ‘म यहाँ मरें भने पनि लाश बुझ्ने मानिस कोही छैनन्’, भनिरहने कान्छीमाया आत्तिएर नेपाल फर्किइन् । अहिले भन्छिन्, ‘अहिले कोरोनाको यो समस्याका बेला बेलायतमै भएको भए मन कति आत्तिन्थ्यो होला, अहिले घर आइपुगें, परिवारको साथमा छु, ढुक्क भएको छ ।’

आँखा केही कमजोर भएर अस्पताल पुगेका आफ्नो श्रीमानको आँखाको शल्यक्रियाले झन पूरै नदेख्ने भएपछि उनलाई स्वास्थ्य चौकी लाने ल्याउने गरिरहेकी धनमाया पुनको बेलाबेलामा आफ्नै ज्यान पनि भारी भएर आउँछ ।

श्रीमानलाई पटक–पटक विभिन्न स्वास्थ्य चौकी डोर्‍याउँदै गर्दा नेपालमा भएका सन्तानको याद निकै आउने गरेको बताउँछिन् धनमाया पाइजा । उनले पनि लण्डनको जीवन निकै गाह्रो गरी काटिरहेकी छिन् । विदेशको बसाइँ कष्टकर छ भन्ने यथार्थका अनगिन्ती उदाहरण छन् उनीसँग । गाह्रो भए पनि घर फर्किन भने नसकेको उनले समय समयमा सुनाउँछिन् ।

कान्छीमाया र धनमायाका जस्ता व्यथा बेलायतका गल्ली गल्लीमा बग्रेल्ती भेटिन्छन् । नेपालमै बसेर सोचे जस्तो सजिलो छैन पूर्वगोर्खाको बेलायतको बसाइँ । भूपू गोर्खाका पीर मर्का त अनगिन्ती नै छन्, ती व्यथाहरु अहिले कोरोनाका बेला उप्किएका छन्, बाहिरै निस्किएका छन् ।

वर्षौंदेखि पीर बोकेर बेलायत बसेका उनीहरुका व्यथा कोरोनाले अझ बढी उप्काई दिएको जस्तो देखिँदैछ । दिनभरजसो यहाँका सार्वजनिक पार्कको बसाइँ अनि बिहान बेलुका कोठामा । अधिकांशको कोठाको बसाई पनि एक्लै या वृद्धवृद्धा मात्र जस्तो देखिन्छ ।

लण्डनमा यसरी नै चलिरहेको छ उनीहरुको जीवन । यतिखेर कोभिड–१९ को सङ्क्रमण बेलायतमा निकै बढ्दो रुपमा देखिन्छ । यससँगै यहाँका नागरिक जस्तै नेपाली पनि सङ्क्रमित भइरहेका छन् र केहीको मृत्यु पनि भएको छ । यहाँ कारोनाले ज्यान जानेमा धेरै त पूर्व गोर्खा नै छन् । अनि मानिसहरु प्रश्न गर्ने गर्छन्, बेलायतमा पूर्व गोर्खा किन यसरी कोरोनाको शिकार भइरहेका छन् ?

लण्डनस्थित बेलायतका लागि नेपाली दूतावासका अनुसार महामारीले बेलायतमा हालसम्म ६० जनाको ज्यान गइसकेको छ । यसरी ज्यान जानेमा ४९ जना त पूर्व गोर्खा मात्र छन् । अन्य ११ जना गैरसैनिक नेपालीको मृत्यु भएको छ ।

त्यसमा पनि ५० जना पुरुष र १० जना महिला रहेका छन् । नेपाली समुदायभित्र यसरी एउटा वर्ग ठूलो मात्रामा यसरी विदेशी भूमिमा प्रभावित भएपछि यहाँका नेपालीमा चिन्ताको विषय बनेको छ । यो प्रभावलाई बुझेरै लण्डनस्थित नेपाली दूतावासले यही वैशाख १५ गते यहाँको रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गोर्खा वेलफेयर ट्रष्टमा पत्राचार गरेर भूपू गोर्खा समुदायको क्षतिप्रति ध्यानाकर्षण पनि गराएको थियो ।

त्यसको प्रतिउत्तर दिँदै गत सोमबार आफ्ना निकायमार्फत सकेको सहयोग प्रदान गर्ने बचन बेलायत सरकारले पनि दिएको छ । त्यसो त यहाँको गैरआवासीय नेपाली सङ्घ युकेले पनि गोर्खा समुदायलाई लक्षित गरी केही राहतस्वरुप औषधि एवं खाद्यान्न सामग्री घरमा पु¥याई दिएको छ ।

भूपू गोर्खा समुदायमा भएको यो क्षतिप्रति सबैको आ–आफ्नै बुझाइ छ । भूपू गोर्खाहरूको समान पेन्सन र अन्य सुविधाका लागि पटक पटक भोक हड्ताल गरेका एक अभियन्ता ज्ञानराज राई भन्छन्, ‘भूपू गोर्खाको मृत्यु अहिले जे कारण भएको भए पनि नेपाल सरकार र बेलायती सरकारले भूपू गोर्खाहरूको समान पेन्सन र अन्य सुविधाका बारेमा समयमै चासो नदेखाएका कारण बाध्यताले बेलायत पसेका भूपू गोर्खाहरू अहिलेको महामारीको निशानामा परेका हुन् ।’

महामारीको चपेटामा परेका अधिकांश भूपू गोर्खाहरू सन् १९६० देखि ६५ बीचमा गोर्खा फौजमा भर्ना भएको देखिन्छ । त्यो बेला भर्ती भएका अधिकांश गोर्खालाई अङ्ग्रेजी भाषामा संवाद गर्न गाह्रो रहेको राईको बुझाइ छ ।

यहाँको नेशनल हेल्थ सर्भिसेस् (एनएचएस) ले जारी गरेका स्वास्थसम्बन्धी बुलेटिन र अन्य प्रचार सामग्री अङ्ग्रेजी माध्यममा मात्रै पाउन सकिन्छ । यो भाषागत समस्या धेरैमध्येको एउटा प्रमुख कारक मानिन्छ । हुन त ग्रीनवीच बरो र सरमोर बरोमा नेपाली भाषामै स्वास्थ्य सामग्री पाइन्छन् । तर नेपाली धेरै ठाउँमा छरिएर रहेकाले सरकारले सबै ठाउँमा बस्ने नेपालीलाई सबै सामग्री नेपाली भाषामा उपलब्ध गराउन पनि सकिरहेको छैन ।

यसका लागि यहाँका केही व्यक्तिले सरकारको ध्यानाकर्षण पनि गराउन खोजेका छन् । तर यहाँको हालको परिस्थितिका कारण सरकारले सकारात्मक लिएर केही गर्नसक्ने देखिए पनि नीतिगत रुपमा भने निश्चित जनसंख्या र स्वास्थ्य विभागको अध्ययनबिना सम्भव छैन । पहिले सन् २०१० र सन् २०१३ मा अध्ययन गरेर दुई स्थानमा मात्र नेपाली भाषामा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

अर्काे कुरा भूपू गोर्खाहरू जो यो महामारीमा मृत्यु भए उनीहरुमा अपवाद बाहेक सबैले पहिलेदेखि नै कुनै न कुनै रोगको नियमित औषधि खाएको देखिन्छ । तीमध्ये केहीको मुटुको र अन्य भागको शल्यक्रिया गरिएको थियो । यसरी हेर्दा पहिलेदेखि नियमित औषधि सेवन गर्ने भूपू गोर्खा बढी रहेको देखिन्छ ।

केही दिनअघि बेलायतको एक समाचार संस्थाले दिएको समाचारअनुसार कोभिडका कारण हाल अस्पताल भर्ना गरिएका पाका उमेरका नागरिकमध्ये सात जनामा एक जन ामात्र बाँच्ने गरेका छन् । यहाँका अस्पतालभित्र के भइरहेको छ बाहिर आउन सक्दैन ।

अस्पतालमा काम गर्ने कर्मचारी सूचना उपलब्ध गराउन स्वतन्त्र छैनन् । यसरी मृत्यु हुने भूपू गोर्खामा कतिपयका छोराछोरी नेपालमै छन् । यहाँ वृद्धवृद्धा मात्रै बस्दै आएको देखिन्छ । उनीहरूमा हुने एक्लोपन र नेपालमा जस्तो एकापसमा घुलमिल हुने समय र वातावरणसमेत नभएका अधिकांशको बसाइँ कष्टकर देखिन्छ ।

गएको १६ अप्रिलमा एउटा अनुवादक संस्थाले अस्पतालमा भर्ना गरिएका एक नेपालीका लागि लगभग जीवनकै अन्तिम कुराकानी ‘इन्ड अफ द लाइफ अपोइन्टमेण्ट’ का लागि दोभाषे गरिदिन मलाई नै इमेल पठाएको थियो ।

त्यो इमेल हेरेर कति बजे आउनुपर्ने हो भनेर मैले सोधेको एकैछिनमा अब जानु नपर्ने भनी तत्कालै इमेल आयो । पछि थाहा भयो कि ती बिरामीको केही घण्टाकै बीचमा अस्पतालमै निधन भएछ । उनले मृत्यु हुने बेलामा समेत मनमा लागेका केही कुरा राख्न पाएनन् । त्यसैले भाषागत समस्याले यहाँका नेपालीमा कति समस्या पारेको छ भन्ने कुरा यो घटनाबाट पनि स्पष्ट बुझ्न सकिन्छ ।

वैशाख २ गते ७५ वर्षीय एक भूपू गोर्खाको कोरोनाका कारण अस्पतालमा निधन भयो । अस्पतालले मृत्युको खबर सुनाउन नजिकको मान्छे चाहियो भन्यो । तर उनकी श्रीमतीलाई भाषाको समस्या रहेको र छोराहरू पनि यहाँ न भएकाले एक जना नेपालीको सहारामा त्यो खबर सुनायो ।

यसरी हेर्दा अब ती वृद्धाको अबको यहाँको बसाइँ पनि निकै समस्याग्रस्त हुने देखिन्छ । भूपू गोर्खाका १८ वर्ष उमेर पूरा गरेका सन्तान बेलायतमा ल्याउन त्यति सजिलो छैन । अर्कातर्फ कतिपय सन्तानका अन्य सदस्य नभएर दुई जना दम्पत्ती मात्र पनि यहाँ बसिराखेका छन् । उनीहरुलाई अरुभन्दा पनि भाषाका कारणले समय समयमा समस्या आइपर्ने देखिएको छ ।

बेलायत सरकारले हालै मात्र कोरोनाका कारण उच्च जोखिममा पर्न सक्नेलाई घरमै पत्र पठाएर सतर्कता अपनाउन भनेको छ । तर अधिकांश पाको उमेर भएका र कुनै न कुनै पुरानो रोगको औषधि सेवन गरिरहेका भूपू गोर्खाका घरमा पत्र आयो वा आएन त्यस विषयमा खोजी गर्नुपर्ने बताउँछन् बिबिसी नेपाली सेवाका पूर्व सम्पादक भगिरथ योगी ।

उमेर धेरै भएका र पुरानो रोगका कारण नियमित औषधि लिइरहनेलाई घरमै बस्न र आवश्यक सतर्कता अपनाउन भने पनि हालसम्म बेलायतमा रहेका कति नेपालीले त्यो पत्र पाए भन्ने तथ्याङ्क यहाँ छैन । यस विषयमा न यहाँको गैरआवासीय नेपाली सङ्घले तथ्याङ्क लिएको छ र न त अन्य कुनै संस्थाले ।

यदि यो पत्र राख्न सकिएमात्र पनि उनीहरूलाई आवश्यक औषधि वा खाद्यान्न यहाँको सरकारकै स्थानीय निकायले घरमै पुर्‍याई दिन्थे । यसपछि बाँकीलाई यहाँस्थित नेपाली सङ्घसंस्थाले पनि केकस्तो सहयोग उपलब्ध गराउने भन्ने सजिलो हुने थियो ।

प्रतिक्रिया दिनुहोस्