कोरोना जोखिमकै बीच नलगाड जलविद्युत् आयोजनाको काम शुरु


३१ बैशाख २०७७, बुधबार
nalgadh 1 scaled

जाजरकोट, ३१ बैशाख । कोरोना भाइरसको (कोभिड–१९) जोखिमका बीचमा नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ ।

कोरोना भाइरसको त्रासका कारण रोकिएको काम सीमित जनशक्ति प्रयोग गरेर शुरु भएको आयोजनाका इन्जिनीयर पदम थापाले जानकारी दिए । ४१७ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएर विस्तृत आयोजना प्रतिवेदन (डिटेल प्रोजेक्ट रिपोर्ट) को काम भइरहेको नलगाड जलविद्युतको बाँधस्थलमा सडक निर्माणको काम शुरु भएको उनले बताए । सहायक मार्गका रुपमा रहेको कालिमटी सिर्केसम्मको सडकमा तार जाली लगाउने काम शुरु भएको बताए ।

बाँधस्थलमा रहेको कडा चट्टान फोर्नका लागि ब्लास्टिङ गर्ने काम जारी रहेको छ । त्यस्तै आयोजनास्थलमा जानका लागि मुख्य मार्गको रुपमा रहेको कालिमटी अधेरी खोला (११ किलोमिटर) सडक खण्डको खारास्थित नलगाड नदीमा पुल निर्माणका लागिसमेत काम शुरु गरिएको बताए ।

आयोजनास्थलमा यातायातको साधन लिन र ल्याउनका लागि यो पुल निर्माण हुनु जरुरी रहेको छ । अहिले पुल निर्माणस्थलमा रहेका ठूला ढुङ्गा फोर्ने काम जारी रहेको आयोजनाले जानकारी दिएको छ ।

आयोजना निर्माण गर्दा प्रभावित हुने घरधुरीलाई दिनुपर्ने मुआब्जाको काम समेत शुरु गर्न लागिएको इन्जिनीयर थापाले बताए । प्रभावित सबै घरधुरीले बैंकमा खाता खोलिसकेका कारण अब पैसा उनीहरुको खातामा भुक्तानी मात्र गर्न बाँकी रहेको छ ।

जग्गाको मुआब्जा वितरणको काम दोस्रो चरणमा प्रवेश गरेसँगै स्थानीयवासीले निर्माण गरेका घरको लागत संकलनको काम शुरु भएको छ । करिब ५०० को संख्यामा यहाँ घर रहेका आयोजनाका इन्जिनीयर पदम थापाले जानकारी दिए । उनका अनुसार यहाँको तीन हजार ९३३ कित्ता जग्गा अधिग्रहण गरिएको छ ।

यसबाट चार हजार ६०५ रोपनी जग्गाको मुआब्जा पाउनेमा सहमति पनि भएको थापाको भनाइ छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसँग समन्वय गरेर मुआब्जा वितरणको काम छिट्टै सम्पन्न गर्ने तरखरमा रहेको बताइएको छ । प्रत्येक रोपनीको रु ६ लाखका दरले रकम दिने सहमति भएको पनि उहाँले जानकारी दिए ।

आयोजनास्थलमा विसं २०७६ भदौ २७ गते मुआब्जा पाउनेको नामावली सार्वजनिक भई जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बारेकोट गाउँपालिकालाई डुबान क्षेत्रमा भौतिक संरचना निर्माण कार्य रोक्न अनुरोध समेत गरेको थियो ।

प्रतिरोपनी रु ६ लाख मुआब्जा दिने सहमति भएको छ । सरकारले आयोजना प्रभावित ६५७ भन्दा बढी घर परिवारलाई रु दुई अर्ब ७२ करोड मुआब्जा बैंक खातामा नै जम्मा गरिदिने तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

डिपिआरका लागि सुरुङ निर्माण पूरा भएको छ । सुरुङभित्र डिलिङ गरेर (ढुङ्गा जाँच) नमूना जाँचका लागि लागि ढुङ्गा निकाल्ने काममात्र बाँकी रहेको छ । सो डिलिङ गर्ने सामग्री नहुँदा अहिले भारतबाट सामग्री ल्याउने काम भइरहेको छ ।

जम्मा पाँच वटा सुरुङ रहेकामा विद्युत् उत्पादनगृह नलगाड नगरपालिकाको वडा नं ७ मा एउटा सुरुङ निर्माण गरिएको छ । त्यस्तै आयोजनाको बाँध निर्माणस्थल बारेकोट गाउँपालिकाको अधेरीखोलामा चारवटा सुरुङ निर्माण गरिएको छ । यी सबै सुरुङबाट नमूना सङ्कलनका लागि ढुङ्गा निकालिने छ ।

कसरी बन्दै छ आयोजना ?

नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन् ।

आयोजना निर्माणस्थलमा प्रभावित हुने क्षेत्र बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाभित्र पर्ने नलगाड नदीमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाबाट यहाँका फलाम, तामाखानी, जलचर, कस्तुरी, चिरकालिज, सुनगिद्ध, मृग तथा शिलाजितलगायत जडीबुटीलाई पर्ने प्रभावका विषयमा यहाँका स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

पुस्तौँदेखि बस्दै आएका स्थानीयवासीलाई उचितरूपमा व्यवस्थापन गर्नुपर्ने र आयोजना निर्माणस्थलबाट विस्थापित भएकालाई राज्यले कति वर्षसम्म सहयोग गर्ने हो त्योसमेत किटान गर्न आग्रह गर्दै सकेसम्म स्थानीयस्तरमै बसोबासको व्यवस्थापन गर्न आग्रह गरेका छन् । सरकारले आयोजनाको डिपिआर छिटो निर्माण गरी निर्माण प्रक्रियामा लैजाने तयारी गरेको छ ।

कर्णाली प्रदेशको सामरिक महत्वका रूपमा हेरिएको यो आयोजना निर्माण गर्न कम खर्चिलो हुनाका साथै सजिलोसमेत भएको ऊर्जाविज्ञको तर्क छ । केही दिनअघि मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई आग्रह गरेको थियो ।

जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छा समेत देखाएका छन् । आयोजना निर्माणका लागि रु एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापन अनुमानित लागत रु ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ ।

यो आयोजना निर्माण कार्य साढे ६ वर्ष्भित्र पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाको बाँध भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । यो निर्माणस्थल समुद्री सतहदेखि एक हजार ५८० सम्मको उचाइमा पुग्नेछ ।

यहाँ ५४५ मिटर चौडाइ र २१० मिटर अग्लो जलाशय बन्नेछ । आठ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ ।

आयोजनाले पार्ने वातावरणीय एवं जैविक प्रभाव न्यून गर्नुपर्ने र वातावरणीय संरक्षण नियम २०५४ लाई ध्यान दिनुपर्नेमा जोड दिँदै काम गर्न सरोकारवालाले आग्रह गरेका छन् । आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र कार्बनडाइअक्साइडको उत्सर्जन हुनबाट सात लाख १७ हजार टन बचत हुनेछ ।

आयोजनाले क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास र विस्तार एवं रोजगारीको सिर्जना, व्यापार व्यवसायको अवसरमा वृद्धि हुनेछ । आयोजनाबाट नलगाड नगरपालिका ५ र ७, बारेकोट गाउँपालिकाका १, २, ५, ६, ७ र ८ वडा प्रभावित हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७