लकडाउनमा रोल्पामा बढ्यो महिला यौन हिंसा, ‘मोवाइल कल’ का घटना


२ जेष्ठ २०७७, शुक्रबार
Rape for nayapage

रोल्पा, २ जेठ । लकडाउनयता जिल्लामा दुई जबरजस्ती करणीका घटना भए । गत चैत २५ गते परिवर्तन गाउँपालिका ५ का ३० वर्षीय अर्जुन घर्तीले एक युवतीलाई जबरजस्ती करणी गरेका थिए ।

अभियुक्त घर्तीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि अदालतको आदेशमा अहिले उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

गत वैशाख ९ गते रुन्टीगढी गाउपालिकामा १६ वर्षीय युवकले बालिकालाई जवरजस्ती करणी गरे । पीडक अहिले फरार छन् । बालिका भने परिवासँंगै छिन् । पीडित बालिकाको अवस्था अहिले सामान्य रहेको प्रनाउ गुरुङले जानकारी दिए । फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कोभिड –१९ को सन्त्राससँंगै सरकारले घोषणा गरेको लकडाउनको समय थपिँदै जाँदा महिला हिंसाका घटना समेत बढिरहेका छन् । यसबीचमा महिला घरेलुका साथै यौन हिंसाको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिंसा सहेर बसेको सरोकार पक्षको भनाइ छ ।

घटना प्रशस्त भए पनि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका सेलमा भने चार मात्रै उजुरी परेका छन् । उजुरी दिएकामध्ये तीन जनालाई मिलापत्र गरेर पठाइएको र एक जनाको छलफल हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेल इञ्चार्ज मीना विकले बताइन् ।

उजुरी गर्नेहरु पनि सदरमुकाम आसपासका पीडित रहेको इञ्चार्ज विकले बताइन् । हिंसा पीडितले महिला तथा बालबालिका सेलमा फोन गरेर आफ्ना समस्या उजुरी गरेकै आधारमा पनि आफूहरुले समस्या सम्बोधन गर्ने गरेको उनले बताइन् । ‘यस अवधिमा पतिबाट कुटपिटमा परेर हिंसा भोगिरहेका महिलाहरुको संख्या धेरै देखिएको छ’, विकले भनिन् ।

लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था नभएकाले कतिपय महिला हिंसा लुकाउन बाध्य भएको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य बताउँछिन् । भौगोलिक विकटताले बालबालिकालाई लिएर सदरमुकाम आउन नसकेकै कारण महिला हिंसा सहेर बस्न बाध्य रहेको अध्यक्ष आचार्यको भनाइ छ ।

‘स्थानीय तहको न्यायिक समिति, स्थानीय प्रशासन र अदालतमा गएर उजुरी गर्ने वातावरण नहुँदा महिलाहरु हिंसा सहन बाध्य छन्’, आचार्यले भनिन्, ‘नजिकको प्रहरी युनिटमा समेत उजुरीपश्चात् छलफल गर्ने वातावरण छैन ।’

घरेलु हिंसा भोगिरहेका करीब १२ महिलाले मोबाइलबाट कुराकानी गरेको आचार्यको भनाइ छ । यस अवधिमा मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्ने खालको घरेलु हिंसाका घटना बढी देखिएको आचार्यले बताइन् ।

सामान्य भन्दा यस्तो अवस्थामा हिंसाका घटना बढी मात्रामा हुने शारीरिक श्रम नगरेर घरमै बसिरहँदा आपराधिक मानसिकता भएकाहरुले यस्तो बेला हिंसाका घटना गराउने गरेको प्रनाउ गुरुङ बताउँछन् । उनका अनुसार जस्तोसुकै अवस्थामा पनि प्रहरी यस्ता घटना नियन्त्रणका लागि सजग छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा करणीका १३ उजूरी परेका छन् । त्यसरी प्राप्त उजुरीमध्ये १२ जबरजस्ती करणी र एउटा जबरजस्ती करणी उद्योगका रुपमा घटना दर्ता भएका छन । यो संख्या अघिल्ला वर्षमा हुने करणीका घटनाको तुलनामा धेरै हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७