प्रदेश-२ सरकार कोरोना संक्रमण नियन्त्रणमा गैरजिम्मेवार बनेको आरोप


२ जेष्ठ २०७७, शुक्रबार
Prabhu Sah CPN

जनकपुरधाम, २ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–२ ले प्रदेश सरकार कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गैरजिम्मेवार भएको आरोप लगाएका छ ।

नेकपा प्रदेश– २ का अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले आज (शुक्रबार) एक प्रेस बिज्ञप्ती जारी गर्दै कोरोना भाइरस नियन्त्रणमा प्रदेश २ सरकारको गैरजिम्मेवारीपूर्ण, उदासीन र चरम लापरवाहीका कारण सिंगो प्रदेश सन्त्रासमा रहेको आरोप लगाएका छन् ।

‘सामान्यतया कुनै पनि प्रकारको महासंकट र महाविपत्तिको सामना गर्न संघीय मुलुकमा संघले नीति निर्माण एवं निर्देशनात्मक कार्य गर्दछ भने, प्रदेश सरकार अग्रभागमा रहेर दृढता एवं तादरुकताका साथ आफ्नो कामकार्वाही तथा जिम्मेवारी निरन्तर बहन गर्नुपर्नेमा २ नम्बर प्रदेश सरकारको गैरजिम्मेवारीपूर्ण उदासीन र चरम लापरवाहीका कारण आज सिङ्गो प्रदेशको यो हविगत देख्न तपाई–हामी बाध्य भएका छौं’, नेकपा प्रदेश २ ले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेकपाले शुरुदेखि नै २ नम्बर प्रदेश अन्य प्रदेशको तुलनामा मुख्यतः नेपाल–भारत खुल्ला सीमा र उच्च जनघनत्वका कारण बढी संवेदनशील र जोखिमयुक्त बताउँदै आएको छ । अहिले देशभरमा भेटिएको २५८ जना कोरोना संक्रमितमध्ये लगभग अधिकांश २ नम्बर प्रदेशकै हुनु गम्भीर चिन्ताको विषय भएको नेकपा प्रदेश २ ले जनाएको छ ।

अहिले नेपालमा पनि कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको गम्भीर अवस्थामा सोही अनुसार परीक्षणको मोडालिटी बिकास गर्न आवश्यक रहेको नेकपा प्रदेश २ ले जनाएको छ ।

विदेशबाट स्वदेश फिर्ता हुने नेपाली नागरिकहरुको अनुमानित संख्यालाई मध्यनजर गर्दै तत्काल आवश्यक क्वारेन्टाइन निर्माण तथा आइसोलेशनको क्षमतामा बृद्धि, आवश्यक मात्रामा आईसीयू वेड तथा भेन्टिलेटरको प्रबन्धसहित २ नम्बर प्रदेशको प्रत्येक जिल्लामा तत्काल वृहत संख्यामा कोरोना संक्रमण परीक्षण गर्नका लागि आरडिटी–पिसिआर प्रविधिसहितको भरपर्दो परीक्षणशाला निर्माण, जिल्ला जिल्लामा कोरोना विशेष अस्पताल निर्माणलगायतको माग नेकपा प्रदेश २ ले गरेको छ ।

कामविहीन दक्ष जनशक्तिहरुको उच्चतम प्रयोगको वातावरण निर्माणमा ईमन्दारीताका साथ दृढ संकल्पित भएर युद्धस्तरमा लाग्न प्रदेश सरकारसहित सम्बन्धित सबै सरोकारवाला पक्षहरुसँग नेकपाले जोडदार माग गरेको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण मुख्यतः प्रदेश नम्बर २ लगायत देशभर नै बढ्दो क्रममा रहेकोले यथाशीघ्र लकडाउनलाई वैज्ञानिक एवं भूगोल सुहाँउदो र व्यवहारिक रुपमा व्यवस्थित गर्दै अगाडि बढ्न नेकपाले प्रदेश सरकारलाई सुझाव दिएको छ ।

यस्तै लकडाउन अझ पनि लम्बिने सम्भावना रहेकाले भारतलगायत अन्य देशमा रोजगारी र अध्ययनका लागि गएका नेपाली नागरिकहरुमध्ये अहिले स्वदेश फर्कन इच्छुकहरुलाई यकिन गरी वैध, व्यवस्थित तथा सुरक्षित तवरले स्वदेश फिर्ता बोलाउने वातावरण तत्काल तयार गर्न संघीय सरकारको नेकपाले गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंकटको यस चुनौतीपूर्ण समयमा जोखिम न्यूनीकरणको प्रमुख आधार सामाजिक ूुरी कायम गर्दै स्वयंसेवी भूमिकासहित समाजमा सचेतना फैलाउने र आफूभन्दा असहाय, गरीब–विपन्न, ज्याला–मजदूरी गर्ने तथा मजदुरहरुलाई आवश्यक सहयोग गर्ने लगायतका सामाजिक कार्यहरुमा सक्रिय रहन पार्टी पंक्तिका सम्पूर्ण सदस्यहरुलाई नेकपा प्रदेश २ ले आग्रह गरेको छ ।

निकट भविष्यमा पार्टी–संगठनमा नेतृत्व मुल्याङ्कनको एउटा प्रमुख आधार कोरोना विरुद्धको संघर्षमा कसको कस्तो भूमिका थियो ? पनि हुने भएकोले यसमा २ नम्बर प्रदेश, नेकपा मातहतका सम्पूर्ण ईमानदार नेता–कार्यकर्ता साथीहरुलाई अग्रभागमा रहेर आफ्नो भूमिका खेल्न विशेष अह्वान र अनुरोध नेकपाले गरेको छ ।

साथै यस कार्यमा पहिलादेखि नै कुशलतापूर्वक लागि परेका पार्टीका नेता–कार्यकर्ता एवं समाजसेवी व्यक्तित्वहरु र कर्तव्यनिष्ठ जनप्रतिनिधिहरु सबैमा नेकपाले हार्दिक आभारसहित विशेष धन्यवाद व्यक्त गरेको छ ।

यसैगरी विश्वसंगै नेपालमा पनि महाविपत्तिको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिमयुक्त अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकहरुप्रति नेकपाले उच्च सम्मान, संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७