प्रदेश-२ को आठ जिल्लामा १०८ कोरोना संक्रमित, पर्सामा सबैभन्दा बढी ९१ जना

आइसोलेसनको अभाव, एक हजार ५२ जनाको नतिजा आउन बाँकी


३ जेष्ठ २०७७, शनिबार
health ministray

महोत्तरी, ३ जेठ । प्रदेश नं २ का आठ वटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । आज विहान सिरहाका एक जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रमण प्रभावित बनेका हुन् ।

सो जिल्लामा आज पहिलो पटक एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा स्वाब परीक्षण गरिएकामध्ये यस प्रदेशका चार जनामा सो सङ्क्रमण पुष्टि भएको सो निर्देशनालयले जनाएको छ । सिरहामा एक, पर्सामा दुई र सर्लाहीका एक समेत चार जना भएका निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।

पछिल्लो तथ्याङ्कसँगै प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमितको संख्या १०८ पुगेको छ । तीमध्ये पर्साका सर्वाधक बढी ९१, धनुषाका चार, रौतहट, बारा र सर्लाहीका तीन–तीन, महोत्तरीका दुई र सप्तरी र सिरहाका एक–एक छन् ।

कोभिड–१९ रोकथाम अभियानअन्तर्गत यस प्रदेशमा शुक्रबारसम्म चार हजार ९८० को स्वाब सङ्कलन गरिएको छ । गत बुधबार, बिहीबार र शुक्रबार गरी तीन दिनभित्र एक हजार ४४ जनाको स्वाब सङ्कलन भएको उनले बताए । अहिलेसम्म स्वाब सङ्कलन गरिएमध्ये तीन हजार ९२४ को जाँच नतिजा आइसकेको र त्यसमा १०८ पोजेटिभ पाइएका हुन् । एक हजार ५२ जनाको नतिजा आउन बाँकी छ ।

सीमा क्षेत्रको आवतजावत मात्र नभएर एउटै पालिकाका एक बस्तीबाट अर्को बस्तीमा पनि आवागमनमा कडाइ गरिएको छ । अनावश्यक हिंडडुल गर्ने जोसुकैलाई कारवाही गर्न प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आठ वटै जिल्लामा निर्देशन गरेपछि थप कडाइ बढाइएको हो ।

प्रदेशमा जोखिम बढ्दै जाँदा आइसोलेसन शैंयाको अभाव खट्किदै छ । प्रदेशमा वीरगञ्जस्थित नारायणी अस्पतालमा ५०, प्रादेशिक अस्पतालमा ४२ र वीरगञ्जकै पोखरियामा आठ शैंया छन् । अहिले सङ्क्रमित नै १०८ पुगेपछि शैंया तत्काल थप्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

महोत्तरीको जलेश्वर अस्पताल, सप्तरीको राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र बाराको कलैया अस्पतालमा कोभिड–१९ उपचारका लागि थप शैंया ब्यवस्था गर्ने भनिए पनि ती अस्पताल यस प्रयोजनमा अझै सञ्चालन हुनसकेका छैनन् ।

प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनु पर्ने विज्ञहरुको सुझाव छ । खुला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन प्रक्रिया सघन गरिन पर्ने विज्ञले सुझाएका छन् ।

प्रदेशमा भर्खरै दुई क्वारेन्टाइन केन्द्र थपेर १८१ बनाइएको छ । चार हजार २६७ यस्ता शैंयामा हाल एक हजार ९१५ जना रहेका छन् । त्यसैगरी स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वारेन्टाइनमा रहनेको संख्या चार हजार ६८८ रहेको सो निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७