कोरोनाबाट पहिलो मृत्यु, उच्च सतर्कतासहित गरियो सदगत


४ जेष्ठ २०७७, आईतवार
202d0d937d6a4c21399cf83274aac5d1 w1000 h500 cp

काभ्रे, ४ जेठ । कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक एक व्यक्तिको ज्यान गएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाका कारण भएको पुष्टि शनिबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लैजाँदै गर्दा बिहीबार उनको मृत्यु भएको थियो । मन्त्रालयले नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले शनिबार बेलुका ८ बजेर ५० मिनेटमा विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेका हुन् ।

प्रवक्ता डा. विकास देवकोटाले दिउँसो ४ बजेको नियमित प्रेस ब्रिफिङमा भने सबै परीक्षण र जाँच गरेपछि मृत्युको कारणबारे सार्वजनिक रूपमा जानकारी गराइने बताएका थिए । ‘यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्बन्धित थप परीक्षणपश्चात् नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ’, सहप्रवक्ता डा. अधिकारीद्धारा जारी विज्ञप्तिमा लेखिएको छ । कोरोना संक्रमितको संख्या पनि बढेर २ सय ८१ पुगेको छ ।

सुत्केरीपछिको सकस

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार गर्भवती ती महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भइन् । त्यसको भोलि नर्मल डेलिभरी भयो । अस्पतालले वैशाख २५ गते डिस्चार्ज दियो ।

त्यसपछि उनी सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । ‘घर गइसकेपछि ज्वरो, श्वासप्रश्वासमा समस्यालगायत शारीरिक समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएको कुरा जानकारीमा आएको छ’, डा. देवकोटाले भने ।

अस्पतालले डिस्चार्ज दिएको एक सातापछि कोरोनाका लक्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मृतकका पति, सासू र नन्दको स्वाब संकलन गरिएको छ । परिवारका सबै सदस्यलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमितका परिवारसँग सम्पर्कमा रहेका व्यक्तिको खोजी गर्न प्रहरी परिचालन गरिएको छ ।

पोस्टमार्टम भएन

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको पोस्टमार्टम विशेष सावधानीका साथ गर्नुपर्छ । तर, ती महिलाको पोस्टमार्टम हुन सकेन । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झा यो विषयमा खुलेनन् ।

‘भक्तपुरबाट एम्बुलेन्स आयो, शव लिएर गयो’, डिस्ट्रिक्ट क्राइसिस म्यानेजमेन्ट सेन्टरका सदस्यसमेत रहेका डा. झाले भने, ‘किन पोस्टमार्टम गरिएन भनेर मलाई नसोध्नुस् ।’ मन्त्रालयका एक उच्च अधिकारीले भने संक्रमणको डरका कारण पोस्टमार्टम हुन नसकेको बताए ।

ती सुत्केरी महिलालाई जेठ १ गते राति साढे ९ बजे धुलिखेल अस्पतालको मूल गेटमा ल्याइपु¥याइयो । त्यति बेला उनको श्वासप्रश्वास बन्द भइसकेकाले आकस्मिक कक्षमा सीपीआर र इन्क्युवेटलगायत प्रक्रिया अपनाइएको अस्पतालले जनाएको छ ।

‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ’, मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

परिवारका सदस्यले बताएका लक्षण कोरोनासँग मिल्दोजुल्दो भएपछि मृतकको तत्कालै द्रुत परीक्षण (आरडीटी) गरिँदा रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।

नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । उनलाई बिहीबार थप उपचारका लागि धुलिखेल ल्याइएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले अस्पतालको गेटमा पुग्दा सुत्केरीको मृत्यु भइसकेको सुनाए । उनका अनुसार ती महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकल, सुरक्षागार्डलाई क्वारेन्टाइनमा राखिएको छ । धुलिखेल अस्पतालले आकस्मिक कक्ष सिल गरेको छ। अस्पताल वरपर आउजाउ गर्न पनि रोक लगाइएको छ ।

मन्त्रालयको टोलीले सुत्केरीको मृत्यु भएको विषयमा शनिबार धुलिखेल अस्पतालको टिमसँग छलफल गरेको थियो । मन्त्रालयबाट आएका डा. गुणराज लोहनी र डा. दीपेन्द्ररमण सिंहलगायत छलफल गरी शनिबार नै काठमाडौं फर्किएका थिए ।

उच्च सतर्कतासहित सदगत

ती महिलाको शव शनिबार राति काठमाडौंमा ल्याइएको थियो । त्यसलाई विद्युतीय शवदाह गृहमा सदगत गरिने डा. झाले बताए । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव जथाभावी सदगत गर्न नहुने कार्यविधिमा उल्लेख छ ।

शवलाई कमभन्दा कम चलाउनु पर्छ । शवलाई ‘डिसइन्फेक्ट’ गर्न भने आवश्यक छैन । शव लिएर काठमाडौं आएका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७