साउदीमा कोरोनाबाट तीन नेपालीको मृत्यु, बहराइनमा संक्रमित नेपालीको संख्या ३३१ पुग्यो


५ जेष्ठ २०७७, सोमबार
nepal embassy baharain

काठमाडौं, ५ जेठ । नेपालका कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट दुई जनाको ज्यान गइसकेका बेला प्रवासमा रहेका नेपाली पनि उतिकै समस्यामा छन् ।

नेपालीको श्रम गन्तव्य मुलुक साउदीको जेद्दा क्षेत्रमा तीन नेपालीको कोरोना भाइरस संक्रमका कारण ज्यान गएको छ ।

साउदी सरकारका अनुसार साउदीको जेद्दा र जजानलगायतका क्षेत्रमा गरी १४८ नेपालीमा कोरोना संक्रमण देखिएको छ । साउदीको सबै क्षेत्रमा गरी ६७४ नेपालीलाई कोरोना संक्रमण भएको त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएका पनि दूतावासले जनाएको छ ।

त्यस क्षेत्रमा संक्रमितमध्ये ३३ जना निको भएको महावाणिज्यदूतावासका कार्यवहाक महावाणिज्यदूत रेवती पौडेलले जानकारी दिएका छन् ।

साउदीमा अहिलेसम्म ५२ हजार १६ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये २३ हजार ६६६ जना निको भएका छन् भने २८ हजार ४८ जनाको अस्पतालमा उपचार भइरहको छ । ३०२ जनाको ज्यान गएको छ ।

बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३३१ पुग्यो
यता बहराइनमा थप ८६ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३३१ पुगेको त्यहाँस्थित नेपाली दूतवासले जनाएको छ । यसअघि बहराइनमा २४५ जना नेपालीमा कोराना संक्रमण देखिएको थियो । संक्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ ।

बहराइनमा अहिलेसम्म ६ हजार ७४७ जनामा कोरोना संक्रमण देखिएकोमा २७ सय ६२ जना निको भएका छन् । तर सङ्क्रमितमध्ये कति नेपाली निको भए भन्ने विवरण भने खुलाइएको छैन । बहराइनमा १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

bahrain

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७