बूढानीलकण्ठको तीन वडा सिल गर्ने तयारी


५ जेष्ठ २०७७, सोमबार
Road scaled

बूढानीलकण्ठ, ५ जेठ :  काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ ।

वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ ।

सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उक्त क्षेत्र आजदेखि सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

शङ्कास्पद सातजनामा गरिएको परीक्षणमा एकजनामा सङ्क्रमण देखिएको छ भने तीनजनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ । तीनजनाको नतिजा आउन बाँकी छ । पिसिआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पिसिआर परीक्षण गर्ने बताइएको छ ।

युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जनाएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो ।

बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ स्थित छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । भारतको विभिन्न ठाउँ हुँदै नेपालको सिमासम्म आइपुगेका ती व्यक्ति नेपालगञ्जमा रहेको क्वारेन्टाइमा बसी पत्रसहित सम्बन्धित जिल्ला पठाउने क्रममा काठमाडौँ आइपुगेको बताइएको छ ।

नेपालगञ्जबाट काठमाडौँ आएका उक्त व्यक्तिको आरडिटी परीक्षण पहिले नै गरिएको भएतापनि स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्नुपर्ने भएकाले उनीहरुलाई क्वारेन्टाइमा राखिएको नगर प्रमुख खरेलले बताए । क्वारेन्टाइनमा राखिएकाहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, रसुवा, नुवाकोट र सुर्खेतलगायतका छन् ।

निःशुल्क खानाको सट्टा रोजगारी

काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले निःशुल्क खानाको सट्टा रोजगारी दिनेभएको छ । लकडाउनपछि नगरपालिकाले वडा नं ६ ले छहारी भवनमा तथा वडा १० ले निःशुल्क खाना वितरण गर्दै आएको थियो ।

नगरपालिकाले सञ्चालन गरेको मेसबाट दैनिक चार हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका थिए । यस्तो कार्यक्रमले कोरोना भाइरसको जोखिम बढाउन सक्ने भन्दै नगरपालिकाले निःशुल्क भोजन वितरण कार्यक्रम बन्द गरिएको छ । कार्यक्रम बन्दभए सँगै उनीहरु समस्यामा परेका छन् । कोरोनाको सम्भावित सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन शुरु गरेदेखि नगरपालिकाले विपन्नका लागि राहत उपलब्ध गराउँदै आएको थियो ।

खाना कार्यक्रमका अतिरिक्त चार हजार ७२५ मजदुर तथा विपन्न परिवारलाई राहत बाडेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विपन्न तथा मजदुरका लागि खाना तथा राहतभन्दा पनि रोजगारी दिने तयारी गरेको नगरप्रमुख खरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७