झापामा नौं र सुनसरीमा दुई कोरोना संक्रमित थपिए


६ जेष्ठ २०७७, मंगलवार
korona 1 1

झापा, ६ जेठ । प्रदेश–१ मा आज (मंगलबार) ११ जना कोरोना संक्रमित थपिएका छन् ।
झापामा नौं र सुनसरीमा दुई जनामा कोरोना संक्रमित थपिएका हुन् । झापाका नौं जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरेकी छिन् ।

उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् । यहाँका एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् । योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन पुगेको छ । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने प्रदेश–१ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७