६० प्रतिशत जनसंख्या आवद्ध कृषि क्षेत्रलाई २ प्रतिशत बजेट छुट्याएर पुग्दैन : मन्त्री भुसाल


६ जेष्ठ २०७७, मंगलवार
ghanashyam bhusal

काठमाडौं, ६ जेठ :  कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्र उठाउन सानोतिनो मेहनतबाट उठाउन संभव नहुने बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार गरेको वेबिनारमा मन्त्री भूसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि क्षेत्र उठाउन राज्यको भूमिका बढाउनुपर्ने बताए ।

‘महामारीका कारण समस्या कृषि क्षेत्र नै बढी संकटमा छ भने समाधान पनि कृषि क्षेत्रबाटै संभव देखिएको छ’ मन्त्री भुसालले भने, ‘त्यसका लागि राज्यको भूमिका बढाउनुपर्ने हुन्छ ।’
मन्त्री भुसालले सरकारले यो क्षेत्रमा बजेट बढाएर ल्याउने बताए । ‘कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको अनि ६० प्रतिशत जनसंख्या आवद्ध भएको कृषि क्षेत्रलाई दुई प्रतिशत जति बजेट छुट्याएर मात्रै पुग्नेवाला छैन’, उनले भने ।

महामारीका कारण संभावित भोकमरीबाट बच्न सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था आएको बताए । मन्त्री भुसालले तत्कालीन समस्या मात्रै नभएर कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि नै मन्त्रालयले ‘सुरक्षित कृषि, सुनिश्चित बचत’को कार्यक्रम ल्याएको बताए ।

किसानले अपहेलित भएर बस्नुपर्ने तत्कालीन अवस्थाबाट मुक्त हुँदै कृषि क्षेत्रमा लगानी बढाउने अवसर समेत अहिले तयार भएको उनले बताए । ‘कृषि उत्पादन बढाउन संघीयतामा जानुको विकल्प छैन । उत्पादन, भण्डारण र बजारीकरणको संयन्त्र सवै स्थानीय तहसम्म लैजानुपर्छ’, मन्त्री भुसालले भने । कृषि उत्पादन बढाउन स्थानीय सरकारलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने मन्त्री भुसालको भनाइ छ ।

कृषि क्षेत्रको यान्त्रीकरण भाषणले मात्रै नहुने भएकाले वस्तुगत तथ्यका आधारमा सरकारले योजना ल्याउनुपर्ने उनले बताए । ‘पहिले हामीलाई पुग्ने खाद्यन्न उत्पादन गर्ने अवस्था सिर्जना गर्नुपर्छ । जतिसक्दो चाँडो आयात अन्त्य गरेर यान्त्रीकरणमा जान सकिन्छ’, मन्त्री भुसालले भने । त्यसका लागि ठूलो संख्यामा उत्पादन बढाउनुपर्ने मन्त्री भुसालले बताए ।


नीज क्षेत्रलाई आह्वान
कृषि क्षेत्रमा राज्यको भूमिका बढाउनुपर्ने आवश्यकतामा जोड दिएका मन्त्री भूसालले नीजि क्षेत्रलाई लगानीका लागि आह्वान गरे । महामारीकै कारण १५ लाख अतिरिक्त श्रमशक्ति थपिने, ३० प्रतिशत पहाडी जमिन बाँझो भएको र सरकारले समेत कृषि क्षेत्रमा लगानी सुनिश्चित गर्ने कार्यक्रम ल्याएकाले नीजि क्षेत्रले लगानी गर्ने राम्रो अवसर भएको उनले बताए ।

‘महामारीकै कारण सिर्जित समस्या हल गर्न सकिएन भने यो अवसर नभएर चुनौती मात्रै रहन्छ’, मन्त्री भुसालले भने । यसका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर कृषि क्षेत्र उकास्न तयार रहेको उनको भनाई छ । यसका लागि चक्लाबन्दी कार्यक्रमको विकल्प नरहेको मन्त्री भुसालको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७