कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु


प्रकाशित मिति : 20 May, 2020 11:44 am

बुटवल, ७ जेठ । कोरोना भाइरस  संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको ज्यान गएको हो । योगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गुल्मी मदाने गाउँपालिका–६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए ।

उनी गुल्मी मदाने–६ पुर्कोटदहको निमाविका प्रधानाध्यापक हुन् । क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो । गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए । त्यहाँ उनलाई म्यालपोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विष्णु भुसालले टाइफाइडको औषधि दिएका थिए । औषधि खाएपछि उनलाई दुई दिन जति सञ्चो पनि भएको थियो ।

तर १ गते वान्ता भएपछि फेरि क्लिनिकमा पुगे । म्यालपोखरी स्वास्थ्य चौकी मदानेका स्वास्थ्यकर्मी समेत रहेका भुसालले जण्डिस भएको बताएका थिए ।

लगतै स्थानीय व्यवसायी भोजराज भट्टराईले मोटरसाइकलमा राखेर अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुर्‍याए । त्यहाँका स्वास्थ्यकर्मीले विरामीको अवस्था जटिल रहेको भन्दै मणिग्रामको क्रिमसन अस्पताल रिफर गरे र बुटवलबाट गएको एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो ।

सन्धिखर्कबाट विरामी शिक्षकसँगै उनका साला मात्र मणिग्राम आएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयले औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनीहरु दुवै जनाको रिपोर्ट भने मृत्यु भएपछि आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्