आजै फेरि नौ जना काेराेना सङ्क्रमित थपिए, ५१६ पुग्यो सङ्क्रमितको सङ्ख्या

आज मात्रै ५९ जना सङ्क्रमित


९ जेष्ठ २०७७, शुक्रबार
corona virus covod 19 1536x1057 1 1

काठमाडौँ, ९ जेठ । कोभिड– १९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको बताएकाे हाे ।

नयाँ सङ्क्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला, भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला, सप्तरी वलान विहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।

योसँगै आज मात्रै सङ्क्रमित हुनेको सङ्ख्या ५९ पुगेको छ । यसअघि बिहान ३० जना र दिउँसो २० जनामा सङ्क्रमण देखिएको थियो ।

यसअघि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सङ्क्रमितको सङ्ख्या ५१६ पुगेकाे जानकारी दिएकाे थियाे  ।

यस्तै अहिलेसम्म ७० जना पूर्णरुपमा सञ्चो भई घर फर्किसकेका छन् । उनका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय नाघेको छ । सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो ।

त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको  थियाे । त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिएका थिए  ।

तीन जनाको भने मृत्यु भइसकेको छ । हालसम्म पीसीआर विधिबाट हालम्म ४२ हजार ४ सय ८८ र आरडीटी विधिबाट ८२ हजार एक सय १६ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७