आरडिटी किटमा कोरोना पोजेटिभ देखाउने क्षमता ५० प्रतिशत मात्रै

कोरोना निको हुनेको संख्या ७० पुग्यो, देशभर पाँच सय १६ संक्रमित


१० जेष्ठ २०७७, शनिबार
corona check2020 05 23 05 17 31

काठमाडौं, १० जेठ । सरकारले कोरोना भाइरसको परीक्षणलाई व्यापक बनाउने उद्देश्यसहित हालै निजी स्वास्थ्य संस्थाहरूलाई पनि आरडिटी परीक्षणको बाटो खुला गरेको छ ।

तर, सरकारमातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने उपचार प्रक्रियामा आरडिटी परीक्षण गर्न नमिल्ने प्रतिवेदन सरकारलाई बुझाएको छ । आरडिटी किटको विश्वसनीयतामाथि संसारभर प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले प्रभावकारिता अध्ययन गर्न परिषद्लाई जिम्मा दिएको थियो ।

परिषद्ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतका निकाय तथा विज्ञहरूसमेत सहभागी गराएर अध्ययन–अनुसन्धान गरेको थियो । जसले आरडिटी किट अध्ययन–अनुसन्धान गर्न मिल्ने, तर उपचारको प्रक्रियामा प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको छ । परिषद्ले बुझाएको प्रतिवेदन स्वास्थ्य मन्त्रालयले भने गोप्य राखेको छ ।

अनुसन्धानमा संलग्न परिषद्का एक अधिकारीका अनुसार आरडिटी किटमा कोरोना पोजेटिभ देखाउने क्षमता ५० प्रतिशत मात्रै देखिएको छ । तर, नेगेटिभ केसमा भने राम्रो रिपोर्ट दिएको छ । त्यही भएर विश्व स्वास्थ्य संगठनको मान्यता र अनुसन्धानको निचोडअनुसार आरडिटी किट उपचारका रूपमा प्रयोग गर्न नमिल्ने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको उनले बताए ।

अनुसन्धानका क्रममा दुई सय व्यक्तिको रगतको नमुना लिएर आरडिटी र उनीहरूकै थ्रोट स्वाब संकलन गरी आरटी पिसिआर विधिबाट पनि कोरोना परीक्षण गरिएको थियो । जसमा चारजना कोरोना भाइरस पोजेटिभ भएका थिए ।

एक सय ९६ नमुनाको पिसिआर र आरडिटी दुवै परीक्षणले नेगेटिभ रिपोर्ट देखायो । तर, पिसिआरले पोजेटिभ देखाएका चार नमुनामध्ये आरडिटीले दुई नमुनामा मात्रै पोजेटिभ देखाउन सक्यो । त्यसैले आरडिटी परीक्षणलाई प्रयोगमा ल्याए ५० प्रतिशत संक्रमित समुदायमै छुट्ने र तिनले भयावह स्थिति ल्याउने अनुसन्धानको निष्कर्ष छ ।

समुदायमा एकैपटक ठूलो संख्यामा संक्रमण देखिएका वेला भने पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला हुने भएकाले आरडिटी परीक्षण गर्न सकिने सुझाब प्रतिवेदनमा दिइएको छ । तर, आरडिटीको रिपोर्टलाई उपचारका रूपमा लिन नहुने अनुसन्धानको निष्कर्ष छ ।

सरकारले ओम्नी समूहमार्फत ७५ हजार आरडिटी किट खरिद गरेको थियो । संसारभर यो किटमाथि प्रश्न उठिरहेका वेला नेपालले खरिद गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

विवादका बीच मन्त्रिपरिषद्बाट निर्णय भई तराईका जिल्लामा आरडिटी किटबाट परीक्षण गर्न थालिएको थियो । अरू किट बजारमा नभएकाले अनुसन्धानकर्ताहरूले पनि ओम्नी समूहले ल्याएका किटकै प्रभावकारिता अनुसन्धान गरेका थिए ।

सरकारले सबै निजी स्वास्थ्य संस्थाहरूलाई आरडिटी परीक्षण गर्न दिए राज्यले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी अनुसन्धानमा संलग्न विज्ञहरूले दिएका छन् । ‘अस्पतालमा आरडिटी गरेका आधारमा मानिस ढुक्क भएर घर जान्छन्, तर प्रभावकारिता न्यून भएकाले आरडिटीको भर पर्दा समुदायमा जोखिम बढाउने खतरा बढी छ,’ प्रतिवेदनमा भनिएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार नागरिक दुई हजार तिरेर निजी स्वास्थ्य संस्थामा आरडिटी परीक्षण गर्न तयार हुन्छन्, तर पुनः १५ हजार तिरेर पिसिआर गर्न तयार हुँदैनन् । त्यसैले उपचारका रूपमा पैसा तिरेर निजी संस्थाहरूलाई आरडिटी परीक्षण गर्न दिनु गलत हुन्छ ।

सरकारको निर्णयपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धेरै निजी स्वास्थ्य संस्थाले आरडिटी परीक्षणको अनुमतिका लागि निवेदन दिएका छन् । प्रयोगशालाले भने कार्यविधि बनाएर मात्रै अनुमति दिन उचित हुने सुझाब स्वास्थ्य मन्त्रालयलाई दिएको छ ।

‘आरडिटी परीक्षणमा कोरोना पोजेटिभ आए के गर्ने, नेगेटिभ आए के गर्ने भन्ने यकिन भएको छैन । त्यसैले कार्यविधि बनाएर मात्रै दिनुपर्छ भन्नेमा हामी छौँ,’ प्रयोगशालाकी निर्देशक डा. रुणा झाले भनिन् ।

कोरोना निको हुनेको संख्या ७० पुग्यो, देशभर पाँच सय १६ संक्रमित

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किने बिरामीको संख्या ७० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मात्रै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा उपचाररत २१ संक्रमित डिस्चार्ज भएका छन् ।

उपचारका लागि भर्ना भएकाहरूको कम्तीमा पनि एक हप्ता निरन्तर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालले डिस्चार्ज गर्दै आएको छ । शुक्रबार डिस्चार्ज भएका नौ महिला र १२ पुरुषले १७ देखि २० दिनसम्म अस्पतालमा उपचार गराएका थिए । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार संक्रमितको औसत अस्पताल बसाइ २० दिनको छ ।

मन्त्रालयका अनुसार शुक्रबार ५९ जना नयाँ संक्रमित देखिएपछि देशभर संक्रमितको संख्या पाँच सय १६ पुगेको छ । चार सय ४३ जना आइसोलेसमा छन् । ७० जना निको भएर फर्किएका छन् भने तीनजनाको मृत्यु भएको छ ।

देशभरका क्वारेन्टाइनमा २७ हजार आठ सय २९ जना छन् । त्यस्तै हालसम्म ४२ हजार पाँच सय १७ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ भने ८२ हजार एक सय १६ जनाको आरडिटी परीक्षण भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७