जापानको नारिता उड्यो नेपाल एयरलाइन्स


१० जेष्ठ २०७७, शनिबार
Nepal AIrlines A330 200

काठमाडौं, १० जेठ । लकडाउन का कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली बोकेर नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिता उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ः४५ बजे निगमको जहाजले नारिता अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार्टर्ड उडान भरेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । जम्मा २६८ यात्रुमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् ।

नेपालस्थित जापानी दूतावासका पहलमा निगमको वाइड बडी जहाजले चार्टर्ड उडान गरेको बताइएको छ । लकडाउन मा निगमको जापानमा यो तेस्रो पटकको चार्टर्ड उडान हो । सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइड बडी जहाजले दोस्रो पटक चार्टर्ड उडान गरेको थियो ।

गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो । नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर्ड उडान गरेको हो । निगमको वाइड बडी जहाजले काठमाडौँको सुमेघ टूर एन्ड ट्राभल्स प्रालिसँग काठमाडौँ–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले नारितातामा गत फागुन १९ गतेदेखि सीधा उडान सेवा शुरु गरेको थियो । कोभिड—१९ को संक्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाल स्थगन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७