एकै दिन थपिए विश्वमा अहिलेसम्मकै बढी एक लाख सात हजार नयाँ संक्रमित थपिए

विश्वका साढे २१ लाख कोरोना संक्रमित निको, तीन लाख ३९ हजार बढीको मृत्यु


१० जेष्ठ २०७७, शनिबार
korona treatment

काठमाडौं, १० जेठ । विश्वभर कोरोना भाइरस महामारीको संक्रमण घट्नुको सट्टा झन बल्झिंदै गएको छ ।

कोरोना नियन्त्रणका लागि विश्वले अनेक प्रयास जारी राखे पनि विश्वमा कोरोनाबाट हुने मृत्यु र संक्रमणको दर घट्नुको सट्टा झनझन बढ्दै गएको छ । जसका कारण तत्काल कोरोना नियन्त्रण नहुने संकेत देखिएको छ । पछिल्लो २४ घण्टा (शुक्रबार) एकै दिन विश्वभर अहिलेसम्मकै सबैभन्दा धरै कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टा अर्थात आज (शनिबार) विहानसम्ममा मा विश्वभर एक लाख सात हजार ५४५ जना नयाँ संक्रमित थपिएको वल्र्डओमिटरले जनाएको छ । यो एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो । बिहीबार विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित फेला परेका थिए ।

विश्वका साढे २१ लाख कोरोना संक्रमित निको, तीन लाख ३९ हजार बढीको मृत्यु
हालसम्म विश्वमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ३९ हजार नाघेको छ । ५२ लाख ९७ हजार बढी संक्रमितमध्ये २१ लाख ५० हजार उपचार पछि निको भएका छन् । ४४ हजार पाँच सय बढी संक्रमितको अबस्था गम्भिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ४४ हजार नाघेको छ । मृत्यु हुनेको संख्या ९७ हजार ६ सय पुगेको छ । बेलायतमा दुई लाख ५४ हजार संक्रमितमध्ये ३६ हजार तीन सय बढीको मृत्यु भएको छ ।

इटालीमा दुई लाख २८ हजार ६ सय संक्रमित र ३२ हजार ६ सय बढीको मृत्यु भएको छ । फ्रान्समा एक लाख ८२ हजार दुई सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार दुई सय नाघेको छ ।
यस्तै स्पेनमा दुई लाख ८१ हजार नौं सय बढी कोरोना संक्रमितमध्ये २८ हजार ६ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा तीन लाख ३० हजार आठ सय बढी संक्रमित हुँदा २१ हजार बढीको मृत्यु भएको छ । यता जर्मनीमा एकलाख ७९ हजार सात सय बढी संक्रमित र ८ हजार तीन सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९७१ कोरोना संक्रमित हुँदा मृत्यु हुनेको संख्या ४ हजार ६३४ पुगेको छ । रसियामा तीन लाख २६ हजार चार सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या तीन हजार दुई सय नाघेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या एक लाख २४ हजार सात सय नाघ्दा तीन हजार ७२६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म एक हजार ६७ जनाको मृत्यु हु्ँदा ५० हजार ६ सय बढी संक्रमित भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७