लकडाउनमा पनि कालीगण्डकी करिडोरको काम धमाधम


१० जेष्ठ २०७७, शनिबार
kali

काठमाडौं, १० जेठ । कोरोनाको कहर थप विस्तार हुन थालेको छ । सरकारले लकडाउन जारी राखेको छ ।

धेरै जसो विकास निर्माणका काम ठप्प छन् । विषम अवस्थामा पनि विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने साहस पनि यही बीचमा प्रदर्शन भइरहेको छ । बन्दाबन्दीको समय आफैमा कष्टकर भएपनि अन्य उपाय छैन सरकार र नागरिकका सामु ।

यही बीचमा केही आयोजनाले भने आशाको सञ्चार गरिरहेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निर्माणाधिन आयोजनालाई कसरी अगाडि बढाउने भन्ने स्म्बन्धमा स्पष्ट दृष्टिकोण तयार पारेका कारण काम धमाधम भइरहेको छ ।

आगामी असारभित्रै देशको सबैभन्दा ठूलो सबस्टेसनको निर्माण सम्पन्न हुँदैछ । माथिल्लो तामाकोशीको काम पनि गतिमा नै छ । यसले विपदमा पनि सामाजिक दुरी कायम राख्दै विकास निर्माणको काम अगाडि बढाउन सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रमा भए गरेका कामलाई थप सहजीकरण गर्न हरदम प्रयास भइरहेको छ ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वास मात्रै पैदा भएको छैन, इमान्दर भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लकडाउनको अवधिलाई पनि सकेसम्म परिणाममुखी बनाउन हरदम प्रयत्न गरिरहेका छन् । सोही कारण केही आयोजनाले लकडाउनमा समेत नेपाली नागरिकलाई खुसी तुल्याउन सहयोग पुर्‍याएको छ ।

ऊर्जा मन्त्रालय र प्राधिकरणको एकीकृत कार्ययोजनाका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)का बीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको विवरण प्राप्त भएको छ ।

दाना र कुश्मास्थित खुर्कोटमा २२०–१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि लकडाउनमा जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेको प्राधिकरणले जनाएको छ ।

दाना-कुश्मा खण्ड यही असारभित्रमा संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । सो प्रसारण लाइनको अवस्थाका बारेमा कार्यकारी निर्देशक घिसिङले गत फागुनको अन्तिम सातामा स्थलगत निरीक्षण गरेका थिए । पछिल्लो पटक उनले नियमित रुपमा आयोजनाको अवस्थाका बारेमा जानकारी लिँदै स्थानीय स्तरमा समन्वय गरिरहेका छन् ।

यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा सञ्चालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने गरी व्यवस्था गरिएको छ । हाल थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।

घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताए । उनले भने, ‘गत वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो, केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरुको दह्रो साथ र सहयोग पाएका छौं, असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ ।’

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आवश्यकता र चाहनालाई ख्याल गरेर आयोजनामा ठूलो सहयोग पुर्‍याउनु भएको प्राधिकरणको बुझाइ छ । स्थानीयस्तरमा हुने सहयोग र समन्वय नै ठूला आयोजनाका लागि प्रेरणाको स्रोत बन्ने गरेको छ ।

प्रसारण लाइनमा हरेक टावर नै एउटा आयोजना जस्तो बन्ने नेपालको विकासको विकृतिलाई अन्त्य गर्न स्थानीय प्रशासनले गरेको सहयोग आफैमा अनुकरणयोग्य रहेको प्राधिकरणको भनाइ छ ।

कूल ३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एक टावर मात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्ेटसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

म्याग्दी र पर्वतमा गरी करिब तीन किलोमिटर मात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए । उनले लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तीब्रता दिन गाह्रो भएता पनि असारभित्र जसरी पनि चार्ज गरिने बताए ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो ।

करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन) सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ । सो प्रसारण लाइनलाई पनि थप गति दिने प्रयास भइरहेको छ । प्राधिकरणका रुग्ण भनिएका आयोजनालाई सम्पन्न गर्न विशेष पहल भइरहेको छ । त्यसले नागरिकमा एक खालको उत्साह ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७