३९० टन सामान बोकेर नेपालका लागि छुट्यो चिनियाँ कार्गो रेल


११ जेष्ठ २०७७, आईतवार
nepal chain railway

काठमाडौं, ११ जेठ । चीनको कान्सु प्रान्तको सदरमुकाम लान्चौबाट ३९० टन सामान बोकेको चिनियाँ कार्गो रेल शुक्रबार नेपालका लागि छुटेको छ ।

नेपाल–भारतबीच सीमा विवाद चर्किरहेका बेला लान्चौबाट दक्षिण एशिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेल पुनः शुरू भएको हो । कार्गो रेलका कन्टेनरलाई तिब्बतको शिगाचे पुगेपछि इन्टरमोडल ट्रान्सपोर्ट तरिकाबाट सडकको माध्यमबाट ढुवानी गरिने जनाइएको छ ।

जुन १० दिनभित्र काठमाडौं आइपुग्ने जनाइएको छ । कार्गो रेल १३ लाख अमेरिकी डलर मूल्य बराबरका दैनिक आवश्यकताका सामान, जुत्ता, कपडा, गाडीका सरसामान तथा निर्माण सामग्रीले भरिएका छन् ।

लान्चौबाट शिगाचेसम्म दुई हजार ४३१ किलोमिटरको रेल यात्रापछि ५६४ किलोमिटरको सडक यातायातबाट केरूङ र त्यहाँबाट १६० किलोमिटरपछि काठमाडौं पुग्नेछ ।

यो चीनको पश्चिमी क्षेत्रको विकासका लागि एउटा महत्वपूर्ण प्लेटफर्म हुनुको साथै बेल्ट एण्ड रोड र अन्तर्राष्ट्रिय व्यापारका लागि पनि एउटा महत्वपूर्ण हब हो । दक्षिण एसियाली बजार विस्तार गर्न आर्थिक र व्यापार सहयोग प्रवर्धनका लागि उत्कृष्ट विकल्प बनेको छ ।

२०१६ मा दक्षिण एशिया रेल तथा अन्तर्राष्ट्रिय कार्गो रेलको आरम्भ भएयता रेल तथा रेलसेवा सञ्चालनको गुणस्तर निरन्तर सुध्रिँदै आएको छ । चिनियाँ सञ्चार माध्यम अनुसार, हालसम्म व्यापार मात्रा करिब ४ बिलियन युआन पुगेको छ ।

‘लान्झोउबाट छुटेको यो रेल चीन–दक्षिण एशिया अन्तर्राष्ट्रिय रेलसेवा अन्तर्गतको पहिलो मालबाहक रेल हो’, चीनको सरकारी सञ्चार माध्यम चाइना न्यूजले शनिबार लेखेको छ, ‘जुन रेलले तिब्बतको सिगात्सेसम्म सामग्री पुर्‍याएपछि त्यहाँदेखि सडकमार्गबाट काठमाडौं पुर्‍याइने छ । यसका लागि करिब १० दिन लाग्ने छ, जसबाट पहिलेको समुद्री मार्ग (कलकत्ता) बाट ढुवानी हुने समयमा ३५ दिन बचत हुनेछ ।’

सिगात्सेबाट सडक मार्ग हुँदै ती सामग्री केरुङ र तातोपानीबाट नेपाल भित्र्याउने तयारी छ । पाँच वर्षअघि भारतले नेपालमाथि आर्थिक नाकाबन्दी गरेसँगै नेपालले चीनबाट पनि अन्तर्राष्ट्रिय व्यापार गर्न ढोका खोलेपछिको यो रेल ढुवानी पहिलो मानिएको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको निर्भरता तोड्ने प्रयास अन्तर्गत चीनका समुद्री र सुख्खा बन्दरगाह भएर तेस्रो देशसँग व्यापार गर्न नेपालले अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७