विवाद चुलिएपछि बर्षाले मागिन् माफी, भनिन्, ‘आइन्दा ‘हेक्का’ राखेर बोल्छु’


११ जेष्ठ २०७७, आईतवार
barsha raut

काठमाडौं, ११ जेठ । नेपाल–भारतबीचको सीमा विवादका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी नायिका वर्षा राउतले माफी मागेकी छिन् ।

वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेखेर अन्तर्वार्तालाई लिएर जुन हो–हल्ला भयो, त्यसले आफूलाई भावनात्मक ठेस् पुगेको बताएकी छिन् ।

उनले आफू भावुक स्वभावको भएकोले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढै बस्न खोज्ने बताउँदै लेखेकी छिन्, ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकें होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताको सम्मानमा अलिकति पनि चुकेकी छैन, अलिकति पनि तलमाथि परेकी छैन ।’

b 1

सामाजिक सञ्जालहरुमा शुभचिन्तकहरुले बर्षा राउतको चलचित्र बहिष्कारसम्म गर्ने बताउन थालेपछि आएको राउनेको स्टाटसमा लेखिएको छ, ‘संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि ‘नेपाली कलाकार’ भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गीकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ ।’

नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थनमा आफू अग्रपंक्तिमा उभिन तयार भएको पनि उनले बताएकी छिन् । उनले थप लेखेकी छिन्, ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिक मात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपाली सँगै उभिएर समर्थन गर्नुपर्छ ।

समर्थन गर्नुपर्छ वार्ता गर्ने उचित वातावरणको, समर्थन गर्नुपर्छ तथ्य र सत्यको, समर्थन गर्नुपर्छ हामी दुई छिमेकीको प्रगाढ सम्बन्धको, समर्थन गर्नुपर्छ हाम्रो रोटीबेटी सम्बन्धको, र सबैभन्दा धेरै समर्थन गर्नुपर्छ मानवता र मानव धर्मको । यस्तो संवेदनशील समयमा भड्काउ तत्वहरुले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन् – जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’ उनले अब आइन्दा हेक्का राखेर बोल्ने पनि बताउँदै यस्तो परिस्थिति खडा भएकोमा क्षमा समेत मागेकी छिन् ।

b1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७