चार महिने शिशुसहित एकै परिवारका १८ जनाले जिते कोरोनालाई

देशभर १०५ कोरोना संक्रमित निको, ६०३ संक्रमित


१२ जेष्ठ २०७७, सोमबार
parsa discharge 2552020042228 1000x0 1

वीरगञ्ज, १२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमित हुने मात्र नभई यसलाई जित्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

हिजो आइतबार राति वीरगञ्जस्थित नारायणी अस्पतालबाट चार महिने शिशुसहित एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिएका छन् ।

डिस्चार्ज हुनेमा चार महिने शिशुदेखि ६२ वर्षकी वृद्ध महिलासम्म रहेको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा सात महिला र ११ पुरुष रहेको अस्प्तालका फिजिसियन डा. उदयनारायण सिंहले जनाए । उनीहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वासिन्दा हुन् । आइतबार राति करिब ११ बजे उनीहरुलाई डिस्चार्ज गरिएको थियो ।

गत वैशाख २१ मा उक्त परिवारका ३७ वर्षीय पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएको थियो । ती पुरुष वडा नम्बर ३ को राहत वितरण समितिमा नेकपाबाट प्रतिनिधि समेत थिए ।

गत वैशाख २४ मा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । परिवारका सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो ।

चिकित्सकका अनुसार उनीहरु कसैमा पनि कोरोनाको लक्षण देखिएको थिएन । शनिबार मात्र नारायणी अस्पतालको आइसोलेसन वार्डबाट पर्सा, बारा र रौतहटका ९ जना कोभिड १९ का बिरामी निको भएर डिस्चार्ज भएका थिए ।

नारायणी अस्पतालको आइसोलेसन र अस्थायी कोरोना अस्पताल गरि वीरगन्जमा अझै ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । पर्सा निवासी एक संक्रमितको बाराको कलैयामा उपचार भइरहेको छ ।

योसँगै पर्सामा मात्रै कोरोनालाई जित्नेहरुको संख्या २५ पुगेको छ भने देशभर निको हुनेको संख्या १०५ पुगेको छ । हालसम्म नेपालमा ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एकरएक गरी हालसम्म तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७