बन्दाबन्दीको मौका छोप्दै लोहोन्द्रा खोलामा मापदण्ड विपरीत उत्खनन्


१२ जेष्ठ २०७७, सोमबार
khola

बेलबारी, १२ जेठ । कोरोना भाइरस महामारीका कारण देश बन्दाबन्दीमा रहेको मौकामा मोरङको बेलबारी–१ स्थित लोहोन्द्रा खोलामा मापदण्ड विपरीत खोला उत्खनन् हुनथालेपछि स्थानीय विरोधमा उत्रिएका छन् ।

बन्दाबन्दीको मौका छोपी ठेकेदारले मनोमानी रुपमा खोलाको ढुङ्गा, गिटी र बालुवा उत्खनन् गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । तर यसबारे यहाँका जनप्रतिनिधि भने मौन छन् ।
स्थानीयका अनुसार दैनिक ३ सय भन्दा बढी ट्रिपरले मिक्स गिट्टी ओसारी रहेको स्थानीय बताउँछन् ।

khola 1

खोलाको माटोको सतह देखिने गरी उत्खनन भएको छ । खोला उत्खनन् गरेको क्षेत्रमा हेर्ने हो भने पनि करिव ६ फिटको गहिराईमा उत्खनन् भएको देखिन्छ । ट्रिपरको बाक्लो आवतजावत हेर्दा देशमा लकडाउन छ भन्ने केही पनि महसुस नहुने स्थानीय बताउँछन् ।

३ वटा स्काभेटर प्रयोग गरेर उत्खनन् गर्दै सयौं ट्रिपरमा नदीजन्य सामग्री ओसार्ने काम भइरहेको छ । बेलबारी–१ मा दुई ठाउँमा हजार टन बढी मिक्सगिट्टी भण्डारण गरिएको छ । लोहोन्द्रा खोलाबाट दैनिक सयौं टन खोलाजन्य सामग्री बेलबारी नगरपालिका बाहिर गईरहेको स्थानीय राजु कार्की र सन्तोष मगरले जानकारी दिए ।

khola 2

स्थानीयहरु भने बाहिरबाट आएको टिङपरबाट पनि त्रसित भएका छन् । अपरिचत चालक रहेको र उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कुराले पनि स्थानीयलाई चिन्ता बढाएको छ । कोरोना भाइरसले विश्व नै आक्रान्त भएका बेला बाक्लो रुपमा आवतजावत गर्ने ट्रिपरका कारण स्थानीय सम्भावित संक्रमणबाट त्रसित छन् ।

मापदण्ड विपरीत उत्खनन कार्य रोक्न बेलबारी नगरपालिकालाई निवेदन पेश गर्दा पनि अनुगमन पछि मात्र निणर्य गरिने नगरका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएको स्थानीय निलम मगर बताउँछिन् ।

घनाबस्ती नजिक र साढे ५ फिट भन्दा बढी गहिरो गरी उत्खनन् गरिएकाले बर्खा महिनामा आउने लोहोन्द्राको बाढीले बस्ती नै प्रभावित हुने भएकाले उत्खनन कार्य रोक्न अनुरोध गरिएको भए पनि सुनुवाइ नभएको मगर बताउँछिन् ।

सयपत्री कन्ट्रक्सनले सम्झौता अनुसार नै काम गरिरहेको कामदारको भनाइ छ । तर उत्खनन गर्दा अलि बढी खनिएको भने स्वाकार गरेका छन् । उनीहरु भन्छन, ‘हामीलाई त जति खन्नु भन्छन त्यति नै खन्ने हो ।’ 

यता स्थानीयले भने मापदण्ड विपरीत उत्खनन हुनु भएन भनेर आग्रह गर्दा सयपत्री कन्स्ट्रक्सनका सञ्चालक माधव थापाले नगरपालिकासँगको ठेक्का सम्झौता अनुसार नै काम गरेको भन्दै पन्छिएको बताएका छन् ।

khola 3

थापाले उत्खनन् कार्यमा आफ्नो धेरै लगानी भइसकेको कारण बीचमा काम रोक्न नमिल्ने बताएको पनि स्थानीयले बताएका छन् । सञ्चालक थापाले स्काभेटरको दाँत नै करिब एक फिटको जति हुने भएकाले केही ठाउँमा अलि धेरै खनिएको हुन सक्ने बताएको स्थानीयले जानकारी दिएका छन् ।

उनले ४– ५ लाख घनमिटरसम्म नदीजन्य सामग्री भण्डारण गर्ने अनुमति भएकामा आफूले ४० हजार घनमिटर मात्र भण्डारण गरेको बताएको गाउँलेले जनाएका छन ।

बेलबारी नगरपालिकाले मापदण्ड विपरीत उत्खनन कार्य नरोक्ने र संरक्षण दिने मात्र कार्य भए भोलि बाढीबाट आइपर्ने क्षतिको जिम्मेवारी स्थानीय सरकारले लिनु पर्ने स्थानीय बताउँछन् । यता स्थानीयको गुनासो बढेपछि मापदण्ड विपरीत उत्खनन भएको पाइए तत्काल रोक्ने नगरकी उपप्रमुख तारा पराजुलीले बताएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७