काठमाडौं उपत्यकामा पनि बढ्दै जोखिम, कोरोना संक्रमितको संख्या ३५ पुग्यो


१२ जेष्ठ २०७७, सोमबार
kathmandu valley 2nd ring rode

काठमाडौं, १२ जेठ । लकडाउनसँगै काठमाडौं उपत्यकामा बस्दै आएका ठूलो संख्याका मानिस बाहिरिएपछि केहि सुरक्षित मानिएको काठमाडौंमा कोरोना संक्रमितको संख्या थपिंदै जान थालेपछि असुरक्षा बढ्दै गएको छ ।

कोरोना संक्रमणबाट बढी प्रभावित जिल्लाबाट आउनेहरुलाई रोक्नका लागि राजधानी प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिनुका साथै विगतमा स्थानीय प्रशासनमार्फत उपलब्ध गराइँदै आएको सबैखाले पास रद्द गरिए पनि काठमाडौं उपत्यकामा संक्रमितको संख्या विस्तारै बढ्न थालेको छ । आज (सोमबार) एकैपल्ट तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमतिको संख्या ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार पनि काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै आइतबार नै कोरोना संक्रमण पुष्टि भएका नुवाकोट ककानी–३ का ३९ वर्षीय पुरुषलाई पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको छ । उनी स्थानीय नेकपाका नेता समेत रहेको पाइएको छ । उनी काठमाडौं बारम्बार आउजाउ गर्ने व्यक्ति भएको पाइएको छ ।

अहिले काठमाडौंसहित विभिन्न जिल्लाका गरी टेकु अस्पतालमा मात्रै पाँ जना कोरोनाका बिरामी रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिएका छन् । आज थपिएका तीन जनालाई पनि सम्भवतः टेकु अस्पतालमै ल्याइने उनले जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसबाहेक बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा १५ जना, पाटन अस्पतालमा १२ जना र त्रिवि शिक्षण अस्पतालमा एक जना कोरोनाका बिरामी छन् ।

काठमाडौं उपत्यकाका संक्रमितमध्ये धेरैजसो बाहिरी जिल्लाका छन्, जो पढाइ तथा रोजागरीका सिलसिलामा काठमाडौंमा डेरा गरी बस्छन् । सहप्रवक्ता डा. अधिकारीका अनुसार संक्रमितमध्ये उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरी जिल्लामा धादिङ, मकवानपुर, रामेछाप, चितवन, नुवाकोट, सर्लाहीका छन् ।

तर कुन जिल्लाका कति जना छन् भन्ने तथ्याङ्क भने अहिले आफूसँग नभएको उनले बताए । गृह मन्त्रालयले काठमाडौं उपत्यकाका स्थानीय निकायलाई नाकामा कडाइ गर्नका लागि पत्राचार गरिसकेको छ ।

गृहको निर्देशन अनुसार अहिले उपत्यका प्रवेश गर्ने अधिकांश नाकामा स्थानीय निकायले कडाइ गरेका छन् । तर, विभिन्न ढुवानीका सवारीसाधनहरुलाई उपत्यका प्रवेशमा रोक नभएका कारण पनि जोखिम कम छैन । यस्तै नाकामा कडाइ हुँदा हुँदै पनि लुकिछिपी पस्नेहरुका कारण संक्रमण फैलन सक्ने जोखिम उत्तिकै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७