‘निरोगी नेपाल निर्माण’ का लागि प्रधानमन्त्रीले दिए यस्ता पाँच ‘टिप्स’


प्रकाशित मिति : 25 May, 2020 7:16 pm

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निरोगी नेपाल निर्माण’ का लागि पाँच काम गर्न सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमित दिनदिनै बढिरहेका बेला आज (सोमबार) राष्ट्रका नामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माणका लागि पाँच उपाय अपनाउन आग्रह गरेका हुन् । उनले महामारी हत्तपत्त नहट्न पनि सक्ने बताउँदै वास्तविकतालाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।

सरकारले ‘निरोगी नेपाल निर्माण’लाई मूल स्वास्थ्य नीति बनाएको छ। प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवद्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ ।

नेपालीहरूको मनोबल उच्च भएकाले प्रतिरोध क्षमता पनि असाधारण भएको ओलीले बताए । महामारीलाई सरकारले अघि सारेका विभिन्न उपायहरूसहित आफ्नो उच्च मनोबल र प्रतिरोध क्षमताका साथ पराजित गर्नेछौं भन्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताए ।

निरोगी नेपाल निर्माणको लागि पाँच कार्य

पहिलो– यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफुलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

दोस्रो– लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

तेस्रो – भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ।

चौथो – स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ।

पाँचौं – उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।

‘भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन् । विज्ञहरु भनिरहेका छन्–यस भाइरसविरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो ।

हालसम्मका उपायहरु हुन्–भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता वृद्धि गर्ने । सोचौं, हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रुपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरुमा किन समानता पाइन्छ ? किनकी त्यसमा औषधीय तत्व छ ।

हाम्रा पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पु¥याइरहेका छन्’ प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा जारी सम्बोधनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्