लकडाउन कति प्रभावकारी ? दैनिक तीन हजारको हाराहारीमा भित्रिन्छन् सर्वसाधारण


१३ जेष्ठ २०७७, मंगलवार
ghaurifanta naka

काठमाडौं, १३ जेठ । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा बढ्ने क्रम जारी छ । सरकारले संक्रमण नफैलियोस् भनेर सीमा नाका सिल गर्नेदेखि अनेकौं प्रयास गर्दै आएको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि उपत्यकामा संक्रमणको जोखिम बढ्ने औंल्याएपछि गृह मन्त्रालयले उपत्यकाका नाका समेत सिल गरेको हो । तर, सवारी साधन र सर्वसाधारण उपत्यका छिर्ने र बाहिरिने क्रम रोकिएको छैन ।

विभिन्न नाकाबाट दैनिकजसो ३ हजारको संख्यामा यात्रु र १५ सयभन्दा बढी सवारी साधन उपत्यकामा भित्रिँदै आएका छन् । त्यसैगरी दैनिक ३ हजार ५ सय यात्रु र १ हजार ४ सय सवारी साधन बाहिरिँदै आएका छन् ।

पछिल्ला दिनमा सरकारले यात्रु भित्रिने र बाहिरिनेमा केही कडाइ गरेको देखिन्छ । गत चैत ११ देखि जेठ १० गतेसम्मको यात्रु र सवारी साधन भित्रिने र बाहिरिने आँकडा हेर्दा १ लाख ५३ हजार ५ सय ८७ यात्रु उपत्यका भित्रिएका छन् । त्यस्तै २ लाख ५२ हजार २१ जना बाहिरिएको प्रहरी तथ्यांकले देखाउँछ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सबैभन्दा बढी वैशाख २९ र ३० गते यात्रु भित्रिएका थिए। वैशाख २९ गते ७ हजार ४ सय ३२ र ३० गते ७ हजार ९ सय ४५ जना उपत्यकामा भित्रिएको देखिन्छ । त्यसैगरी वैशाख १, १०, ११, १३, १४ गते धेरै यात्रु उपत्यकाबाट बाहिरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार यो मितिमा १ गते १५ हजार १ सय ६५, ११ गते १७ हजार २ सय ७९, १३ गते १२ हजार ४ सय १३ र १४ गते १ हजार ७ सय ७ जना उपत्यकाबाट बाहिरिएको अभिलेख छ ।

‘प्रहरीको आँखा छलेर रातारात पैदल हिंड्ने यात्रु यो अभिलेखमा जोडिएको छैन’, डीआईजी पोखरेलले भने, ‘अधिकांश पास भएका र अत्यावश्यक कामले भित्रिएका र बाहिरिएका यात्रुको अभिलेख समावेश गरिएको छ ।’

उनका अनुसार ४० लाख जनसंख्या रहेको उपत्यकामा यति संख्यामा यात्रु भित्रिनु र बाहिरिनु नौलो होइन । पैदल यात्री भने लकडाउन अवधिमा १८ हजार १ सय ११ जना मात्रै बाहिरिएको अभिलेख प्रहरीसँग छ । तर, लुकिछिपी पैदल यात्रु धेरै उपत्यका ओहोरदोहोर गरेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले जेठदेखि जथाभावी पास वितरणमा रोक लगाइएपछि उपत्यका भित्रिने यात्रुको संख्यामा कमी आएको बताए । प्रहरी तथ्यांकअनुसार जेठ १ देखि १० गतेसम्ममा उपत्यकामा ३० हजार २ सय ८९ जना यात्रु भित्रिएका छन् ।

सोही मितिमा ३० हजार ९ सय ८८ जना बाहिरिएका छन् । सवारी साधनको हकमा सोही मितिमा १६ हजार ६ सय ९८ वटा भित्रिएका छन् । बाहिरिनेको संख्या १६ हजार ६ सय ३४ छ ।

प्रवक्ता शर्माको दाबीलाई मान्ने हो भने वैशाख २२ देखि ३१ गतेसम्म ५१ हजार ६ सय ५५ जना राजधानी भित्रिएका छन्। ५१ हजार ८ सय ८ जना बाहिरिएका छन ्।

सवारी साधनको हकमा वैशाख २२ देखि ३१ गतेसम्म २२ हजार ९ सय २० वटा भित्रिएका थिए। २१ हजार २ सय ९४ सवारी साधन बाहिरिए । प्रहरीकै तथ्यांकअनुसार पनि यात्रु भित्रिने संख्यामा सुधार आएको जानकारी प्रवक्ता शर्माले दिए ।

‘अहिले लकडाउनलाई धेरै कडाइ गरिएको छ। बिनापासका सवारीलाई होल्ड गरेर राखेका छौं’, उनले भने, ‘अत्यावश्यक कामबाहेकका सर्वसाधारणलाई पासबिना उपत्यका भित्रिन दिएका छैनौं । सवारीको हकमा पनि पास अत्यावश्यक गरिएको छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७