दैनिक दुई हजार हाराहारी जिल्ला भित्रिंदै, गाडीमा कोचाकोच आउनेले बढाए ‘जोखिम’


१३ जेष्ठ २०७७, मंगलवार
uddar

दैलेख, १३ जेठ । जिल्ला प्रशासन कार्यालय दैलेखले कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका ४२ हजार नागरिक जिल्ला भित्रने प्रक्षेपण गरेको छ ।

ती नागरिकलाई सुरक्षित क्वारेन्टाइनमा राख्नका लागि पूर्व तयारी थाल्न स्थानीय तहलाई कार्यालयले अनुरोध समेत गरेको छ ।

हरेक गाउँपालिकाले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई नेपाल आउन आग्रह समेत गरेपछि भित्रनेको संख्या दैनिक एक हजारका दरले वृद्धि भएको छ ।

भारतमा कोरोनाको जोखिम बढ्दै जानु र जिल्लामा सोमबारसम्म देखिएका आठ जना सङ्क्रमित सबै भारतबाट आएकामा देखिनुले स्वास्थ्य जोखिम बढेको जनाइएको छ । अहिलेसम्म जिल्लामा पाँच हजार १७३ जना आइसकेका छन् ।

जिल्ला आएकामध्ये कसैको पनि कोरोना जाँच नभएको र सिधै सदरमुकाम आउने क्रम बढेपछि जिल्ला जोखिममा परेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

अहिले ट्रक, ट्याक्टर, बस र हाइसमा कोचाकोच गरेर नारायण र दुल्लु नगरपालिका, महावु, भगवतीमाई र नौमुले गाउँपालिकाका मानिस आउन थालेका छन् । यसले गर्दा सदरमुकाम दैलेख बजार अहिले ट्रान्जिट बनेको छ ।

मानिस ओसारपसार गर्ने सवारी साधनका चालक र सहचालकले समेत स्वास्थ्य सुरक्षा सामग्री लगाएको देखिँदैन । दैनिक दुई हजार नागरिक जिल्ला प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी युवाराज कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७