चालु आवको आर्थिक वृद्धिदर २.३ प्रतिशत, प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १,०८५ डलर


१३ जेष्ठ २०७७, मंगलवार
Youraj khatiwada

काठमाडौं, १३ जेठ । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६–७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन–२०७६–७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिएका छन् ।

यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताएका छन् ।

यसअघि गत आर्थिक वर्ष २०७५–७६ मा नेपालको ६.७५ प्रतिशत आर्थिक वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४–७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

अर्थमन्त्रीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका आर्थिक, भौतिक विकासलगायत समग्र अवस्थाको बारेमा सदनलाई जानकारी गराएका थिए ।

पछिल्लो ३ आवमा उत्पादकको मूल्यमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको उनले बताए । चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ आय प्रचलित मूल्यमा गत वर्षको भन्दा ७.५ प्रतिशतले वृद्धि भएर एक लाख २६ हजार १८ पुग्ने उनले बताए । अमेरिकी डलरमा भने अहिलेको विनिमय मूल्यमा एक हजार ८५ पुग्ने उनले बताए ।

दुई समितिको प्रतिवेदन पेश
प्रतिनिधिसभा बैठकमा दुई संसदीय समितिको प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘कृषि तथा सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७६–७७’ पेश गरिन् ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७