गुल्मी धुर्काेट गाउँपालिका अध्यक्षलाई कोरोना, आफैले गराए जानकारी


१३ जेष्ठ २०७७, मंगलवार
pokhrel

गुल्मी, १३ जेठ । नागरिकको स्वास्थ्य सुरक्षामा खटिरहेका गुल्मी धुर्काेट गाउँपालिका अध्यक्ष भूपाल पोखरेल आफै कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना संक्रमित भएको सार्वजनिक रुपमै जानकारी गराएका छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै अत्तिनु नपर्ने र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘गुल्मीकै मदाने गाउँपालिकामा संक्रमण देखिएका कारण हामीले पनि १० गते गाउँपालिकाभित्रका केही जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र स्थानीय प्रहरीको आरडीटी परीक्षण गरेका थियौं,’ उनले भनेका छन् ‘जसमा एक जना पदाधिकारीको रिपोर्ट पोजिटिभ देखिएपछि मेरो र पोजिटिभ देखिएका व्यक्तिको स्वाब संकलन गरी भैरहवा पठाइएकोमा स्वयं मेरो रिपोर्ट पोजिटिभ देखिएको छ ।’

यस बीचमा आफू धुर्काेट गाउँपालिकाभन्दा बाहिर गुल्मी सदरमुकाम तम्घास गएको जानकारी दिएका छन् । उनले धुर्काेट गाउँपालिका कोरोना भाइरसबाट उच्च जोखिममा रहेको पुष्टि भएको बताउँदै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तीमा खुलाएका छन् ।

‘यो रोग समयमै पहिचान भएकाले केही हप्ता म एकान्तवास बस्नु पर्ने भएको छ,’ उनले भनेका छन् ‘मेरो एकान्तवास यस रोगविरुद्ध लड्ने र समग धुर्काेट गाउँपालिकाको आगामी योजना र समृद्ध धुर्काेट निर्माणका लागि रहने छ ।’

उनले आफ्नो सम्पर्कमा आएको व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ हुने हुँदा क्वारेन्टिनमा नै वस्नमा लागि अनुरोध गरेका छन् । त्यस्तै धुर्काेट गाउँपालिका वडा नं ४ का अर्का संकमित भारतबाट आई पाञ्चायन माविको क्वरेन्टिनमा रहेका एक व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको र उनी दीर्घरोगी समेत रहेको अध्यक्ष भुपाल पोखरेलले बताएका छन् ।

धुर्काेट गाउँपालिका कोरोना भाइरसको उच्च जोखिममा रहेको हुँदा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रबाट दिइने सम्पूर्ण सेवा अर्काे व्यवस्था नभए सम्मका लागि बन्द गरिएको छ भने गाउँपालिकाको केन्द्र बर्बाेट क्षेत्र देखि वडा नं ४ को भुवान सम्मको क्षेत्रलाई सिल गरिएको जानकारी दिएका छन् । उनले गाउँपालीकाबासीलाई रोग फैलिन नदिनका लागि सामाजिक दूरी कायम गरी पारिवारिक हिसावले कृषि कर्म गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७