लकडाउनले खुम्च्यायो लगानी


१४ जेष्ठ २०७७, बुधबार
economics

काठमाडौं, १४ जेठ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण यस वर्ष सरकारी र निजी क्षेत्रबाट लगानी घट्ने भएको छ । गत आवमा प्रचलित मूल्यमा १९ खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँ लगानी भएकामा चालु आवमा ३.४ प्रतिशत घट्ने सरकारी अनुमान छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार १८ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ मात्रै चालु आवमा लगानी हुनेछ । ‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट सार्वजनिक एवं निजी क्षेत्रको खर्चमा आएको संकुचनले कुल लगानी गत वर्षको तुलनामा न्यून हुने भएको हो,’ सर्वेक्षणमा भनिएको छ । ०७५–७६ मा पुँजी निर्माणमा हुने लगानी १९.२ प्रतिशतले वृद्धि भएको थियो ।

चालु आवको बाँकी अवधि र आगामी वर्षमा लगानी घट्न नदिन हालका प्राथमिकतासँगै नयाँ अवसरका क्षेत्रहरूको खोजीमा सरकार लाग्नुपर्ने योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माको धारणा छ ।

‘पछिल्लो परिस्थितिका कारण अनुमान मिल्ने छैन भनेर तथ्यांक विभागले खण्डन गरिसकेको छ । त्यसकारण सर्वेक्षणमा भनिएभन्दा धेरै लगानी घट्छ,’ उनले भने, ‘यसको विकल्प भनेको अब लगानी बढाउने नयाँ क्षेत्रहरूमा बजेटले सम्बोधन गर्नुर्पयो । प्रविधि र कृषि हाम्रा लागि थप अवसरका क्षेत्र हुन् ।’

पूर्व उपाध्यक्ष शर्माले अन्य अवसरका क्षेत्रसमेत पहिल्याएर विपद्को परिस्थितिमा लगानी बढाउन आधार निर्माण गर्न सकिने बताए । ‘निजी क्षेत्रको लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि यसअघिका सबै झन्झट हटाउनुपर्‍यो,’ उनले भने, ‘प्रदेशहरूले पनि लगानी बढाउन झन्झटरहित वातावरण बनाए आउँदो वर्ष थप क्षति हुने थिएन ।’

पछिल्ला ३० वर्षको अवधिमा अघिल्लो वर्षको तुलनामा लगानी घटेको यो तेस्रो पटक हो । यसअघि ०५८–५९ र भूकम्प गएको वर्ष ०७२–७३ मा अघिल्लो वर्षको तुलनामा कुल लगानी घटेको थियो ।

भूकम्प गएको वर्ष ८ प्रतिशत लगानी घटेको थियो । ‘यस पटक असारमा सामान्य अवस्था हुन्छ भन्ने आशाका साथ यस्तो अनुमान गरिएको हो,’ सर्वेक्षण निर्माणमा संलग्न एक अधिकारीले भने, ‘यस वर्ष पनि कम्तीमा ७–८ प्रतिशत लगानी कम हुने अनौपचारिक हिसाब छ ।’

सरकारी तथा निजी क्षेत्रबाट हुने खर्चको संकुचनले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदरमा भने गम्भीर धक्का लाग्नेछ । यस वर्ष २.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । लकडाउनले निरन्तरता पाइरहे यो वृद्धि ऋणात्मक हुने जोखिम रहेको तथ्यांक विभागका अधिकारीहरूले बताइसकेका छन् ।

विभागले चालु आवका लागि गरेको अनुमानित जीडीपीमा लगानीको अनुपात पनि घट्ने भएको छ । ‘गत वर्ष कुल गार्हस्थ्य उत्पादनसँग कुल लगानीको अनुपात ५६.६ प्रतिशत रहेकामा यस वर्ष ५०.२ प्रतिशत मात्रै रहने अनुमान छ,’ सर्वेक्षणमा भनिएको छ । लगानी भई त्यसले परिणाम दिइसकेको आँकडालाई हेर्ने हो भने अवस्था झन् खराब छ ।

लगानीले सम्पूर्ण चक्र पूरा गरिसकेको कुल स्थिर पुँजी निर्माण गत आवको तुलनामा ९ प्रतिशत कमी आई १० खर्ब ५९ अर्ब ९७ करोड रुपैयाँ मात्रै हुनेछ । यसभित्र सरकारी क्षेत्रबाट भएको स्थिर पुँजी निर्माणको अंश २२.१ प्रतिशत मात्रै हो ।

निजी क्षेत्रको हिस्सा भने ७७.९ प्रतिशत रहने सर्वेक्षणमा उल्लेख छ । ‘सरकारी क्षेत्रको तुलनामा निजी क्षेत्रको पुँजी निर्माणको वृद्धिदर उच्च छ,’ सर्वेक्षणमा भनिएको छ । तर कोभिड–१९ को असरले दुवै क्षेत्रले गर्ने लगानीमा संकुचन आएको हो ।

यो कमीले जीडीपीमा बचतको अनुपातसमेत घट्ने भएको छ । ०७५–७६ मा कुल गार्हस्थ्य उत्पादनसँग कुल गार्हस्थ्य बचतको अनुपात १९.९ प्रतिशत रहेकामा ०७६-७७ मा कमी आई १८.१ प्रतिशत हुने अनुमान छ । ‘विश्वव्यापी महामारी कोभिड–१९ का कारण नेपाल भित्रने विप्रेषण दरमा गिरावट आउने देखिन्छ । जसले बचतमा गिरावट आउने अनुमान छ,’ सर्वेक्षणमा भनिएको छ ।

राष्ट्र बैंकले मंगलबार नै जनाएअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्षको वैशाखमा ३९ प्रतिशत कम रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष ७२ अर्ब रुपैयाँ आएको थियो भने हाल ४४ अर्ब रुपैयाँ मात्रै रेमिट्यास आएको राष्ट्र बैंकको तथ्यांक छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७