कोरोना प्रभावित महाराष्ट्र र दिल्लीबाट हुलका हुल घर फर्किदै नेपाली

न किट, नत जाँच, गाउँमा फैलिंदै त्रास


१४ जेष्ठ २०७७, बुधबार
gaurifanta

बाँके, १४ जेठ । भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् ।

नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौं नेपालीको लर्को लाग्ने गरेको छ । फर्किनेहरु अधिकांश भारतको कोरोना प्रभावित क्षेत्रका छन् । भारतको कोरोना प्रभावित क्षेत्र महाराष्ट्र र दिल्लीका विभिन्न शहरमा रोजगारीका लागि गएका करीब १८ हजार नेपाली नेपालगञ्ज नाका हुँदै पछिल्लो सात दिनमा भित्रिएका छन् ।

भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेकोे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन् ।

उनका अनुसार पछिल्लो सात दिनमा नेपालगञ्ज नाका हुँदै १७ हजार ६८६ नेपाल भित्रिएका छन् । यही जेठ ७ देखि १२ गते रातिसम्म भारतका विभिन्न ठाउँबाट सीमा क्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश समेतका गरेर १५ हजार ४५६ नेपालीलाई जमुनाह नाकाबाट नेपाल प्रवेश गराइएकामा गए राति फेरि दुई हजार २३० जनालाई उद्धार गरिएको छ ।

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा सीमामा अलपत्र नेपालीलाई नेपाल ल्याउने काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए । अहिले प्रत्येक दिन दुईदेखि तीन हजारसम्म नेपाली नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उनको भनाइ छ । आज बिहान १० बजेसम्म दुई सय नागरिक भारतबाट नेपाल भित्रिसकेका छन् ।

नेपाल–भारत सीमा नाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।

बाँकेको कोरोना अति प्रभावित क्षेत्र बन्न पुगेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका नेपालीमध्ये ९० प्रतिशत महाराष्ट्रबाट आएको पाइएको छ । नेपालगञ्ज नाकाबाट भित्रिएर क्वारेन्टिनमा बसिरहेका कर्णाली प्रदेशका सुर्खेत र दैलेखका नागरिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ यति बेला महाराष्ट्र र दिल्लीबाट फर्किएका नेपालीमा सङ्क्रमणको जोखिम बढी देखिएकाले तुरुन्त परीक्षण गरिनुपर्ने बताउँछन् । तर, आवश्यक मात्रामा किटलगायतका उपकरण नभएको उनी बताउँछन् ।
नरैनापुरमा विद्युतीकरण शुरु

कोरोना भाइरसबाट अतिप्रभावित बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा विद्युतीकरण विस्तार शुरु गरिएको छ ।

कोरोना महामारी सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण दुई महीनादेखि रोकिएको विद्युतीकरण सोमबादेखि शुरु भएको हो । नेपालगञ्ज–फत्तेपुर हुँदै नरैनापुर–५ जमुनाहासम्म विद्युतलाइन पुगे पनि नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा र कटकुइँया गरी चार वडामा अझै विद्युत् पुग्न सकेको छैन ।

नरैनापुरमा कोरोना महामारीबाट सङ्क्रमितलाई राख्न आइसोलेशन केन्द्र र क्वारेन्टिन व्यवस्थापनमा विद्युत् नहुँदा समस्या भएपछि विद्युत् विस्तार शुरु गर्न आग्रह गरिएको नेपालगञ्जस्थित विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय प्रमुख मुनिन्द्र्र ठाकुरले जानकारी दिए ।

उनका अनुसार विद्युतीकरण विस्तारको जिम्मा पाएको त्रिलोक रेणु कन्स्ट्रक्सन कम्पनीले नरैनापुर गाउँपालिकाको हुलाकी सडकमा बिजुलीका खम्बा गाड्ने र तार टाँग्ने काम एकसाथ शुरु गरेको छ ।

कोरोनाको बढ्दो सङ्क्रमणबाट प्रताडित नरैनापुरवासीको सहज जीवनयापन र लक्ष्मणपुर स्वास्थ्य केन्द्र्रको स्तरोन्नतिसहित तत्काल सेवा प्रवाह गर्न विद्युतीकरण अगाडि बढाइएको उक्त क्षेत्रका प्रदेशसभा सदस्य कृष्णा केसीले बताए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विद्युतीकरण विस्तार शुरु भएपछि नरैनापुरमा बिजुली बल्ने आशा पलाएको बताए ।

नरैनापुर– ५ मटेहिया जमुनाहादेखि नरैनापुरसम्म १०६ खम्बा गाडिसकिएको भए पनि तार टाँगिएको छैन । अब नरैनापुरदेखि लक्ष्मणपुरसम्म ८९ र कटकुइयासम्म ५० खम्बा गाड्ने र तार विस्तार गरिने प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख ठाकुरले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७