बागलुङका ६ संक्रमितलाई १०० किमी टाढाको धवलागिरी अस्पताल लगिंदै


१४ जेष्ठ २०७७, बुधबार
dhaulagiri hospital

बागलुङ, १४ जेठ । जिल्ला सदरमुकामदेखि झण्डै १०० किलोमिटर टाढा रहेका क्वारेन्टिनमा बसेकाहरुमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई सदरमुकाम बागलुङ बजारस्थित धवलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ ।

भारतबाट आएका छ जनामा कोरोना सङ्क्रमण भएको आज पुष्टि भएको छ । पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टिनमा बसेका छ जनाको नमूना परीक्षणमा कोरोना सङ्क्रमण देखिएको हो ।

जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभुवन मावि क्वारेन्टिनमा रहेका दुई र तमानखोला गाउँपालिकाको धनगौज्योति मावि क्वारेन्टिनमा रहेका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको स्वाबको नमूना परीक्षण गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरेको थियो ।

तमानखोलाको धनगौज्योति माविमा रहेका चार जनामा सङ्क्रमण देखिएपछि उपचारका लागि धवलागिरी अस्पताल बागलुङ पठाउने तयारी भइहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

बडिगाडको त्रिभुवन माविका दुई जनालाई पनि धवलागिरि अस्पताल ल्याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा रहेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । सङ्क्रमित तमानखोला–३ तमानका चार र बडिगाड–८ दर्लिङका दुई जना हुन् ।

बागलुङबाट बुधबार पठाइएका ९२ स्वाबमध्ये केहीको मात्रै रिपोर्ट आएको छ । तीमध्ये छ जनामा कोरोनाको सङ्क्रमण देखापरेको छ । कोरोना सङ्क्रमण भएको खबर पाएपछि उनीहरुको उपचारका लागि धवलागिरी अस्पतालले आवश्यक तयारी थालेको छ ।

‘हामीलाई तयारी गर्नु भनेपछि तयारी थालेका छौं’, अस्पतालका प्रमुख डा. शैलेन्द्र विक पोखरेलले भने, ‘संख्याको विषयमा जानकारी आएको छैन ।’ बागलुङमा झण्डै ४०० भारतबाट आएर क्वारेन्टिनमा बसेका छन् । उनीहरुमध्ये केहीको मात्रै कोरोना जाँच भएको छ ।

यसअघि बागलुङका दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरु नेपालकै पाँचौं र छैटौं कोरोना सङ्क्रमित थिए । ६५ वर्षीया वृद्धा महिला र १९ वर्षीया युवती धवलागिरी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७