बेलायतमा कोरोनाबाट फेरि अर्का एक गोर्खा सैनिकको मृत्यु


प्रकाशित मिति : 28 May, 2020 6:55 am

बेलायत, १५ जेठ । बेलायतमा फेरि अर्का एक गोर्खा सैनिकको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ ।

बेलायती सेना सेभन जीआरका अवकाश प्राप्त ६१ वर्षीय जितेन्द्र राईको मंगलबार कोरोनाका कारण ज्यान गएको । हाल बेलायतको ग्रेजमा बस्दै आएका मृतक राईको पुर्ख्यौली घर खोटाङ जन्तेडांडा–३ भए पनि पछिल्लो समय उनी उदयपुरमा बस्दै आएका थिए ।

बिगतमा बेलायत बसेर नेपाल फर्किएका राई गत डिसेम्बरमा मात्र बेलायत आएका थिए । उनका तीन छोरा बेलायतमा छन् भने श्रीमती नेपालमै छिन् ।

तीन हप्ता घरमै आइसोलेसनमा बसेका राईलाई ठिक नभएपछि एसेक्सको बासिल्डन अस्पतालमा भर्ना गरिएको थियो । करिब एक महिना लामो समयसम्म अस्पतालमा उपचारका गर्दागर्दै उनको कोरोनाका कारण मृत्यु भएको हो ।

हालसम्म बेलायतमामात्र साँढे पाँच दर्जन नेपालीहरुको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ । जसमध्य साँढे चार दर्जन पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र बाँकी गैर गोर्खाहरु रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले गत शनिबार साँझसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ११७ पुगेको जनाएको थियो । नेपाललाई समेत समावेस गरिएको उक्त तथ्याङ्क अहिले वृद्धि भएर १२० भन्दा बढी पुगिसकेको छ ।

विश्वभरमा ३ लाख ५६ हजार भन्दा धेरैको कोरोनाका कारण ज्यान गइसकेको छ भने बेलायतमा अहिलेसम्म कोरोनाका कारण ३७ हजार ४ सय ६० जानाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्