कोरोनाबाट ललितपुरमा एक जनाको मृत्यु


१५ जेष्ठ २०७७, बिहीबार
korona 1

काठमाडौं, १५ जेठ । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।

डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।

किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो । सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो ।

‘भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । तर बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उहाँको डेथ भयो,’ किष्टमा कार्यरत एक चिकित्सकले भने ‘अहिले ८ बजे रिपोर्ट पोजेटिभ आयो ।’

ती चिकित्सकका अनुसार, कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शव गृहमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७