कालापानीबाट सुरक्षा फौज फिर्ता गर : परराष्ट्रमन्त्री ज्ञवाली


१५ जेष्ठ २०७७, बिहीबार
PradeepKumarGyawali1 scaled

काठमाडौं, १५ जेठ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि कालापानीबाट उसको सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन् ।

ज्ञवालीले नेपाल र भारतबीच बल्झिँदै गएको सीमा समस्या छिटै समाधान गर्न सो क्षेत्रमा यथास्थितिको अवस्था सिर्जना गर्नुपर्ने र त्यसका लागि सबैभन्दा पहिले भारतले त्यहाँ तैनाथ गरेको सुरक्षा फौज फिर्ता गर्नुपर्ने बताएका छन् ।

भारतीय सञ्चार माध्यम द हिन्दूलाई दिएको एक अन्तरवार्तामा उनले भनेका छन्, ‘भारतले (सुगौली) सन्धिको भावनाअनुरुप अक्षरशः सम्मान गरोस् भन्ने हामी चाहन्छौं । त्यसो गर्ने सबैभन्दा उपयुक्त बाटो भनेकै भारतले कालापानीमा तैनाथ गरेका सुरक्षा फौज फिर्ता गर्ने र सो भूमि नेपाललाई फिर्ता गर्ने नै हो ।’

उनले थप भनेका छन्, ‘हामीले त नेपालको भूमिमा सडक निर्माण जस्ता एकपक्षीय काम गरिनु हुँदैनथ्यो र यो कुरा संवादबाटै जतिसक्दो छिटो सुल्झाउनुपर्छ भनेर भनिरह्यौं ।’
उनले नेपालले सो विषय टुंग्याउनका लागि सचिवस्तरीय बैठक गरौं भनी भनिरहँदा पनि त्यसो हुन नसकेको बताएका छन् ।

त्यसले नेपाल र भारतबीच सन् १९९७ देखि नै यसबारे प्रधानमन्त्री तहमा भएका समझदारीलाई तोडेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७